Technology Khabar १९ बैशाख २०७५, बुधबार
काठमाडौं ।
काठमाडौं । नेपालमा फोरजी सेवा पछिल्लो समयमा निकै चर्चाको विषय भएपनि अझै निकै कम मोबाइल फोन सेवा प्रयोगकर्ताहरुले फोरजी चलाउने गरेका छन् । हालै सार्वजनिक तथ्यांकअनुसार नेपालमा केबल १३ लाख मोबाइल फोन प्रयोगकर्ताले मात्र फोरजी प्रयोग गर्न पाएका छन् ।
विश्व बजारमा फाइभजी प्रविधि विकास गर्न र परिक्षणको क्रम तिब्ररुपमा भईरहेको बेलामा नेपालमा भने फोरजी ग्राहकहरु नै निकै कम देखिएका छन् ।
नेपाल दूरसंचार प्राधिकरणले हालै संसोधन गरेर प्रकाशित गरेको नयाँ तथ्यांकअनुसार नेपालमा मोबाइल ब्रोडब्याण्ड अन्तरगत केबल १३ लाख २५ हजार ४ सय ४० जनाले फोरजी प्रविधि उपयोग गरिरहेका छन् ।
यो संख्या ईभीडियो अर्थात टूजी सेवा प्रयोग गर्नेको भन्दा धेरै नै भएपनि थ्रीजी सेवाग्राहीको संख्या भन्दा निकै कम हो ।
फोरजी प्रयोगकर्ताहरुमध्ये पनि सबैभन्दा धेरै ग्राहकहरुले एनसेलका छन् । तथ्यांकअनुसार एनसेलका ७ लाख ग्राहकहरुले फोरजी प्रयोग गरिरहेका छन् ।
त्यस्तै नेपाल टेलिकमका ५ लाख ३६ हजार १ सय १३ जना ग्राहकहरुले फोरजी सेवा उपयोग गरिरहेका छन् ।
फोरजी सेवा दिने अर्को मोबाइल अपरेटर स्मार्ट टेलिकमका ग्राहकहरु भने निकै कम छन् । स्मार्टसँग केबल १९ हजार २ सय ३५ जना फोरजी सेवा लिने ग्राहकहरु रहेको देखिन्छ ।
तथ्यांकअनुसार थ्रीजी सेवा प्रयोग गर्नेहरुको संख्या भने अत्यधिक देखिन्छ । कुल ८५ लाख ९६ हजार ५ सय ५३ जनाले थ्रीजी सेवा प्रयोग गरिरहेकोमा ४९ लाख भन्दा बढि ग्राहकहरु केबल एनसेलसँग रहेको छ । एनसेलका ४९ लाख १५ हजार ३ सय ६३ ग्राहकले थ्रीजी प्रयोग गरिरहेका छन् । नेपाल टेलिकमका ३६ लाख ८१ हजार १ सय ९० ग्राहकहरुले थ्रीजी सेवा प्रयोग गरिरहेका छन् ।
ईभीडियो अर्थात टूजी सेवा प्रयोग गर्नेहरुको संख्या पनि प्राधिकरणले नयाँ संसोधित तथ्यांकमा राखेको छ र टूजी सेवा लिनेहरु करिब २ लाखको हाराहारीमा रहेका छन् । हाल यो सेवा नेपाल टेलिकम र यूटिएलले मात्र दिईरहेको छ ।
यस्तो सेवा लिने १ लाख ९९ हजार ७ सय ७६ जनामध्ये १ लाख ३६ हजार ५ सय ७३ जना नेपाल टेलिकमका ग्राहक छन भने ६३ हजार २ सय ३ जना यूनाइटेड टेलिकमका ग्राहकहरु छन् ।
सो रिपोर्टमा राखिएका एडिएसएल, वाईफाई, वाइम्याक्स,लगायतका अन्य तथ्यांकहरुमा भने कुनै परिवर्तन देखिँदैन् ।
प्रकाशित: १९ बैशाख २०७५, बुधबार