
काठमाडौं ।
काउन्टरपोइन्ट रिसर्चले सन् २०२३ को प्रिमियम स्मार्टफोन बजारको बारेमा आफ्नो बिस्तृत तथ्यांक पोस्ट गरेको छ। सन् २०२३ को चौथो त्रैमासिकको प्रारम्भिक नतिजाहरूमा आधारित काउन्टरपोइन्ट रिसर्चको अनुसन्धान अनुसार ६०० अमेरिकी डलर भन्दा बढी मूल्य भएका स्मार्टफोनहरूको बिक्री वार्षिक आधारमा ६ प्रतिशतले बढेको छ।
साथै उक्त वृद्धि, समग्र स्मार्टफोन बजारको अनुमानित गिरावटको विपरीत भएको उल्लेख छ। सम्पूर्ण स्मार्टफोनमध्ये २४ प्रतिशत अब प्रिमियम क्याटगोरीमा पर्ने यो खण्ड उदीयमान बजारहरूमा विस्तार भइरहेको विश्लेषकहरूले बताएका छन्।
उपभोक्ताहरू अब लामो समयसम्म प्रयोग गर्न सकिने उच्च गुणस्तरको डिभाइसको लागि बढी मूल्य तिर्न इच्छुक रहेको काउन्टरपोइन्टका वरिष्ठ विश्लेषक वरुण मिश्राले बताएका छन्।
यस सेगमेन्टमा बजारको निर्विवाद विजेताको रुपमा एप्पल रहेको र दोस्रो स्थानमा रहेको सामसङको तुलनामा ४ गुणा बढी बिक्री भएको उल्लेख छ। कोरियाली निर्माताले आफ्नो ग्यालेक्सी एस २३ र फोल्डेबल डिभाइसहरूको सफल बिक्रीका साथ एप्पलसँगको अन्तरलाई अलिकति कम गर्न सफल भएको छ। त्यसका साथै ह्वावेले पनि चीनमा मेट ६० लाइनअपको साथ राम्रो गरेको उल्लेख छ।
प्रिमियम बजारको वृद्धिमा भने चीन, पश्चिमी यूरोप, भारत र एमईए क्षेत्रहरूमा भएका बिक्रीहरुले उल्लेखनिय भूमिका निर्वाह गरेको उल्लेख छ। साथै चीन, भारत र ल्याटिन अमेरिकाले प्रिमियम बजार बिक्रीको लागि नयाँ रेकर्ड देख्न सक्ने सम्भावना रहेको काउन्टरपोइन्ट रिसर्चले खुलासा गरेको छ। यस्तै विश्वव्यापी रूपमा भारतको बजार सबैभन्दा छिटो तवरले बढिरहेको थप उल्लेख गरिएको छ।
यो वृद्धि मुख्यतया अल्ट्रा–प्रिमियम सेगमेन्ट (खण्ड) द्वारा निर्देशित भएको छ, जस अन्तर्गत डिभाइसहरुलाई १,००० अमेरिकी डलर वा सो भन्दा बढी मूल्य पर्ने जनाइएको छ। निकट भविष्यमा यस प्रवृति जारी रहने अपेक्षाहरू गरिनुका साथै प्रिमियम डिभाइसहरूले समग्र स्मार्टफोन बजारलाई अगाडि बढाउने तथ्यांकमा भनिएको छ।

प्रकाशित: १८ पुष २०८०, बुधबार