सामाजिक सञ्जाल विधेयकको मस्यौदा तयार, कानून उल्लंघन गरेमा २५ लाखसम्म जरिवाना

  • Technology Khabar | १७ पुष २०८०, मंगलवार
सामाजिक सञ्जाल विधेयकको मस्यौदा तयार, कानून उल्लंघन गरेमा २५ लाखसम्म जरिवाना
सांकेतिक तस्बिर। फ्रिपिक डटकमको सहयोगमा।

काठमाडौं ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले कार्यान्वयनमा ल्याउन खोजेको सामाजिक सञ्जाल विधेयक मस्यौदामा उल्लेख भएका नियम उल्लंघन गरेमा २५ लाख रुपैयाँसम्म जरिबाना तिर्नुपर्ने प्रावधान राखिएको छ।

सञ्चार मन्त्रालयले सामाजिक सञ्जालको प्रयोगलाई मर्यादित, सुरक्षित र व्यवस्थित प्रयोग गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तयार सामाजिक सञ्जाल (प्रयोग तथा नियमन) ऐन २०८० को विधेयक मस्यौदा तयार गरेर हाल सुझाव माग गरिरहेको छ।

सामाजिक सञ्जाल विधेयक मस्यौदाको (१) दफा ४४ बमोजिमको कसूर गर्ने वा गराउनेलाई (क) दफा ४४ को खण्ड (क० बमोजिमको कसूर गर्नेलाई २५ लाख रुपैयाँ जरिबानाको व्यवस्था गरिएको छ। यस्तै (ख) खण्ड (क) मा लेखिएदेखि बाहेक अन्य कसूर गर्नेलाई पाँच लाख रुपैयाँसम्म जरिबानाको व्यवस्था गरिएको छ।

(२) दफा ४४ बमोजिमको कसूर गर्न कसैलाई दुरुत्साहन गर्ने, उद्योग गर्ने, षडयन्त्र गर्ने वा त्यस्तो कसूर गर्न सघाउने वा अन्य कुनै व्यहोराले मतियार भई कार्य गर्ने व्यक्तिलाई मुख्य कसूरदारलाई हुने सजायको आधा सजाय हुनेछ।

कुनै कसूर एक पटकभन्दा बढी गर्ने कसूरदारलाई जरिबाना दोब्बर गर्ने व्यवस्था मस्यौदामा उल्लेख छ।

(१) दफा ४४ बमोजिमको कुनै कसूर एक पटकभन्दा बढी गर्ने कसूरदारलाई पटकै पिच्छे दफा ४५ बमोजिम हुने जरिबानाको दोब्बर जरिबाना हुनेछ।

(२) सार्वजनिक पदधारण गरेको कुनै व्यक्तिले दफा ४४ बमोजिमको कुनै कसूर गरेमा त्यस्तो कसूरदारलाई दफा ४५ बमोजिम हुने जरिबानाको दोब्बर जरिबाना हुनेछ।

यसको लागि विद्येयकको परिच्छेद ६ मा कसूर र सजायको बारेमा उल्लेख गरिएको छ।

मस्यौदा विद्येयकको दफा ४३ मा कसूर गरेको मानिने व्यवस्था छ। जसमा भनिएको छ कसैले देहायको कार्य गरेमा वा गराएमा यस ऐन बमोजिमको कसूर गरेको मानिनेछः-

(क) दफा ९ बमोजिम रोक लगाइएको सामाजिक सञ्जाल सञ्चालन गर्ने,

(ख) दफा १५ विपरीत अनलाइन बुलिङ वा साइबर बुलिङ गर्ने,

(ग) दफा १६ विपरीत बेनामी वा छद्मभेषी पहिचान बनाई वा प्रयोग गरी प्रचलित कानून बमोजिम अपराध मानिने कार्य गरेमा,

(घ) दफा १७ विपरीत सामाजिक सञ्जालमा सामाजिक सद्भाव र सहिष्णुतामा आँच आउने कार्य गरेमा,

(ङ) दफा १८ विपरीत सामाजिक सञ्जालमा बालश्रम, मानव बेचबिखन, बहुविवाह, बालविवाह वा जातीय छुवाछुतलाई प्रोत्साहन गरेमा,

(च) दफा १९ विपरीत सामाजिक सञ्जालमा बाल यौन शोषण, यौन दुर्व्यवहार, मानव बेचबिखन वा बालबालिकालाई हानी पु-याउने अन्य कर्यलाई प्रोत्साहन गरेमा,

(छ) दफा २० विपरीत सामाजिक सञ्जालमा महिलालाई हानी पुग्ने सामग्री प्रकाशन वा प्रसारण गरेमा,

(ज) दफा २१ विपरीत सामाजिक सञ्जालमा लागू औषध सेवन तथा कारोबार गर्न प्रोत्साहन गरेमा,

(झ) दफा २२ विपरीत सामाजिक सञ्जालको प्रयोग गरी जुवा खेलाएमा वा जुवा खेल्न प्रोत्साहन गरेमा,

(ञ) दफा २३ विपरीत सामाजिक सञ्जालको प्रयोग गरी आतङ्कवाद सम्बन्धी विषयवस्तुको प्रकाशन वा प्रसारण गरेमा,

(ट) दफा २४ विपरीत सामाजिक सञ्जाल प्रयोग गरी कसैको आइडी तथा सूचना ह्याक गरेमा,

(ठ) दफा २५ विपरीत फिसिङ वा इम्पोष्टर गरेमा,

(ड) दफा २६ विपरीत सामाजिक सञ्जालको प्रयोग गरी बीभत्स तस्विर वा भिडियो पोस्ट वा सेयर गरेमा,

(ढ) दफा २७ विपरीत सामाजिक सञ्जालको प्रयोग गरी निर्वाचनलाई प्रभावित गरेमा,

(ण) दफा २८ विपरीत विपद्को समयमा अफवाह फैलाएमा,

(त) दफा २९ विपरीत अश्लील, भ्रामक वा मिथ्या सामग्री प्रकाशन वा प्रसारण गरेमा,

(थ) दफा ३० विपरीत सामाजिक सञ्जालको प्रयोग गरी कसैको मानहानी गरेमा,

(द) दफा ३१ विपरीत यान्त्रिक उपकरण मार्फत अर्काको कुरा सुनी ध्वनी अन गरेमा, (घ) दफा ३२ विपरीत सामाजिक सञ्जालमा गोप्य कुरा प्रकट गरेमा,

(न) दफा ३३ विपरीत तस्विरको स्वरुप बिगारी प्रकाशन वा प्रसारण गरेमा,

(न) दफा ३४ विपरीत एकको तस्विर अर्कोलाई दिएमा वा बिक्री गरेमा,

(प ) दफा ३५ विपरीत गाली बेइज्जती गरेमा,

(फ) यो ऐन र यस ऐन अन्तर्गत बनेको नियममा उल्लिखित शर्त पालना नगर्ने।

प्रकाशित: १७ पुष २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार