
काठमाडौं ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रीको अध्यक्षतामा देशभर दर्ता भएर संचालनमा रहने सामाजिक सञ्जालहरुको व्यवस्थापन गर्नका लागि सामाजिक सञ्जाल व्यवस्थापन परिषद् गठन गरिने भएको छ।
सामाजिक सञ्जालको प्रयोगलाई मर्यादित, सुरक्षित र व्यवस्थित प्रयोग गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तयार सामाजिक सञ्जाल (प्रयोग तथा नियमन) ऐन २०८० को विधेयक मस्यौदाको परिच्छेद २ सामाजिक सञ्जाल नियमन संचरनामा मन्त्रीको अध्यक्षतामा सामाजिक सञ्जाल व्यवस्थापन परिषद् रहने उल्लेख छ।
सामाजिक सञ्जालको सञ्चालन र प्रयोगलाई व्यवस्थित र नियमित गर्न आवश्यक नीतिगत व्यवस्था गर्न सामाजिक सञ्जाल व्यवस्थापन परिषद् रहनेछ।
आठ सदस्यित सामाजिक सञ्जाल व्यवस्थापन परिषद्को अध्यक्षता सञ्चार मन्त्रीले गर्नेछन्। परिषद्को सदस्य सचिवमा सामाजिक सञ्जाल व्यवस्थापन केन्द्रका प्रमुख रहनेछन्।
अन्य सदस्यहरुमा सञ्चार सचिव, नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष, सामाजिक सञ्जाल प्लेटफर्मका सञ्चालक वा त्यस्तो सञ्चालकहरुको संघ संस्थाबाट प्रतिनिधित्व हुने गरी सञ्चार मन्त्रालयले मनोनयन गरेको कम्पनीमा एक जना महिला सहित दुई जना, सूचना प्रविधि विभागको महानिर्देशक, सञ्चार मन्त्रालयको सहसचिव रहने परिकल्पना गरिएको छ।
परिषद्ले अधिकारमा सामाजिक सञ्जालको सञ्चालन र प्रयोगका सम्बन्धमा नीतिगत व्यवस्था गर्नेछ। यस्तै सामाजिक सञ्जालको नियमन सम्बन्धी अध्ययन अनुसन्धान गरी कानूनी व्यवस्था परिमार्जन गर्न सरकारलाई सिफारिस गर्नेछ। साथै सामाजिक सञ्जालका सञ्चालक र प्रयोगकर्ताले पालना गर्नुपर्ने शर्तहरु परिषद्ले निर्धाण गर्नेछ। र, साथै परिषद्ले सामाजिक सञ्जाल व्यवस्थापन केन्द्रको काम कारबाहीको अनुगमन गरी आवश्यक निर्देशन दिनेछ।
परिषद्को बैठक आवश्यकता अनुसार कम्पनीमा वर्षको तीन पटक बस्नेछ। परिषद्ले बहुमतको आधारमा निर्णय गर्ने उल्लेख छ।
प्रकाशित: १७ पुष २०८०, मंगलवार