आइस्पानले अपस्ट्रिम प्रदायकहरुलाई पठाएको त्यो पत्र, जसले इन्टरनेट बन्द हुनबाट बचायो

  • Technology Khabar | १६ पुष २०८०, सोमबार
आइस्पानले अपस्ट्रिम प्रदायकहरुलाई पठाएको त्यो पत्र, जसले इन्टरनेट बन्द हुनबाट बचायो

काठमाडौं ।

पुस १५ गते मध्यरातीदेखि देशभर इन्टरनेट सेवा बन्द हुने आशंकाका बिचमा अहिलेसम्म देशभर इन्टरनेट सेवा सूचारु रहेको छ। इन्टरनेट सेवा प्रदायकहरुको विदेशी मुद्रा सिफारिस भुक्तानी रोकिँदा ब्याण्डविथ आयातको रकम तिर्न सकेका छैनन्। जसले गर्दा नेपालका लागि अपस्ट्रिम प्रदायकहरुले इन्टरनेट सेवा बन्द गरिदिने चेतावनी दिएका थिए।

नेपालमा अपस्ट्रिम प्रदायकहरु टाटा एयरटेल जियो सिफ्फीलगायतका कम्पनीहरुले डिसेम्बर ३१ को मध्यरातदेखि इन्टरनेट सेवा काटिने चेतावनी दिँदै आएका थिए। उनीहरुले आफ्नो रकम भुक्तानी नगरिएको भन्दै रकम तिर्न दबाब दिँदै आएका छन्।

तर आइतबार रातीसम्म इन्टरनेट सेवा प्रदायकहरुको प्रयास र इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) को मध्यरातको पत्रले इन्टरनेट काटिनबाट रोकिएको छ।

हालसम्म इन्टरनेट बन्द नहुनुमा आइस्पानले खेलेको भुमिकालाई महत्व मानिएको छ।

आइस्पानले पठाएको पत्रमा अहिले भईरहेको अवस्थामा इन्टरनेट सेवाहरू बन्द नगर्न र भुक्तानीको मिति थप केही दिन बढाउन अनुरोध गरिएको थियो।

टेक्नोलोजीखबरले पाएको पत्रमा इन्टरनेट सेवा बन्द हुँदा देशभित्र अधिकांश सेवाहरु ठप्प हुने अवस्था आउने बताईएको थियो।

“आइस्पान र यसका सदस्यहरू सँधै निर्बाध २४/७ इन्टरनेट सेवा प्रदान गर्न प्रतिबद्ध छन्। यस्तो अवस्थामा इन्टरनेट सेवा प्रदायकहरू उपभोक्ताका लागि चिन्तित र तनावमा छन्। इन्टरनेट अवरोध/ब्यान्डविथ कटौतीले विनाशकारी परिणामहरूका साथै व्यवसाय, एयरलाइन्स, बैंक, शिक्षा, सञ्चार, र नेपालमा आवश्यक सेवाहरूमा पहुँचलाई असर पार्छ,” पत्रमा भनिएको छ।

सो पत्रमा अपस्ट्रिम प्रदायकहरूले नेपालका इन्टरनेट सेवा प्रदायकहरूलाई ३१ डिसेम्बर २०२३ सम्म भुक्तानी नगरे ब्यान्डविथ उपलब्ध गराउन सक्ने छैनन् भनी पत्र पठाएको बारेमा जानकार रहेको भन्दै भनिएको छ, “नेपालमा हाम्रो लागि ठूलो मुद्दा हो र वास्तवमा यो राष्ट्रिय मुद्दा बनेको छ।”

यस्तै समयमै भुक्तानीको महत्त्वलाई बुझेको भन्दै सबै सरोकारवालाहरूले समस्याको द्रुत समाधानतर्फ लगनशीलताका साथ काम गरिरहेका छन् भनी आश्वासन दिईएको छ।

“यद्यपि, असाधारण परिस्थितिहरू (वर्तमान घटनाहरू) र जारी सरकारी प्रयासहरूलाई ध्यानमा राख्दै हामी इन्टरनेट सेवाहरू (ब्यान्डविथ) बन्द नगर्न र भुक्तानीको समयसीमाको छोटो विस्तार प्रदान गर्न विनम्र अनुरोध गर्दछौं।” पत्रमा उल्लेख छ।

केही थप दिनले नेपाल सरकारलाई आवश्यक स्वीकृतिहरू अन्तिम रूप दिन र लाखौं नेपाली नागरिकहरूको लागि निर्बाध इन्टरनेट पहुँच सुनिश्चित गर्न अनुमति दिने आइस्पानले उल्लेख गरेको छ।

उक्त पत्रमा हाल देशभित्र भईरहेको विषयहरुलाई उल्लेख गरिएको छ, जसमा विदेशी मुद्रा भुक्तानी स्वीकृति गर्न नेपाल सरकारी निकायहरूले गरेको ढिलाइको कारण उत्पन्न भएको जनाईएको छ।

यस बिचमा सञ्चार र सूचना प्रविधि मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण र आइस्पानको गतिबिधि र भुमिकाको बारेमा जानकारी दिईएको छ। जसमा भुक्तानी प्रकृयालाई सहज बनाउने तर्फ कार्य भईरहेको अपस्ट्रिम प्रदायकहरुलाई जानकारी दिईएको छ।

तर हालसम्म इन्टरनेट बन्द नभएपनि अपस्ट्रिम प्रदायकहरुले कहिलेसम्म सहुलियत दिन्छन भन्ने कुनै जानकारी नभएको आइस्पानले जनाएको छ।

हेर्नुस् पत्र-

प्रकाशित: १६ पुष २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...