माइक्रोसफ्टका पूर्व सीईओ स्टिभ बाल्मरले पाउँदैछन् १ अर्ब डलरको लाभांश

Technology Khabar १३ पुष २०८०, शुक्रबार

काठमाडौं ।

विश्वको छैटौं धनी व्यक्ति स्टिभ बाल्मरले सन् २०२४ मा विश्वको अग्रणी आईटी कम्पनी माइक्रोसफ्टबाट करिब एक अर्ब डलरको लाभांश पाउने भएका छन्।

माइक्रोसफ्टले आफ्नो वित्तीय कार्यसम्पादनमा सुधार देखेको छ, त्यसपछि कम्पनीले एक चौथाईका लागि प्रति शेयर ७५ सेन्टको लाभांश दिने भएको छ, जुन वार्षिक रूपमा ३ डलरको हाराहारीमा आउँछ।

हाल, बाल्मरको माइक्रोसफ्टमा कुनै योगदान छैन, र उनको एउटै योगदान भनेको माइक्रोसफ्टको करोडौं शेयरहरू आफैंसँग हुनु हो।

माइक्रोसफ्टका पूर्व सीईओ स्टिभ बाल्मरसँग ३३३.२ मिलियनको संख्यामा माइक्रोसफ्टको शेयर छ, जुन कम्पनीको कुल शेयर मध्ये ४ प्रतिशत सेयर बराबर हो। स्टिभ बाल्मरले अन्तिम पटक सन् २०१४ मा कम्पनीमा भएको आफ्नो शेयरको बारेमा खुलासा गरेका थिए।

माइक्रोसफ्टमा स्टिभ बाल्मरको ४ प्रतिशत सेयरको आधारमा उनले २०२४ आर्थिक वर्षमा एक अर्ब डलर लाभांश पाउनेछन्। ४ प्रतिशत सेयर भएकाले मात्रै उनले यो लाभांश पाउने भएका हुन्।

माइक्रोसफ्टको सञ्चालक समितिले लाभांश कटौती गर्ने कुनै निर्णय नगरेमा मात्र स्टिभ बाल्मरले यो रकम बराबर लाभांश पाउनेछन्। तर, यस्तो कटौती हुने सम्भावना निकै कम छ। किनभने २००३ पछि, माइक्रोसफ्टको लाभांश भुक्तानी लगातार वृद्धि भएको छ। तर, एक अर्ब डलर लाभांश पाएपछि उनले २० प्रतिशतका दरले २० करोड डलर सरकारलाई कर तिर्नुपर्नेछ।

माइक्रोसफ्टले भर्खरै आफ्नो लाभांश गत वर्षको तुलनामा १० प्रतिशतले बढाएर प्रति शेयर ३ डलर प्रति वर्षको आधारमा दिनेछ। त्यो २०२४ मा बाल्मरलाई ९९९.६ मिलियन डलरको वार्षिक लाभांश भुक्तानीको बराबर हुनेछ, र माइक्रोसफ्टले प्रत्येक वर्ष आफ्नो लाभांश भुक्तानी बढाउने प्रवृत्तिलाई जारी राखेको मान्दा यो अझ बढी हुन सक्छ।

माइक्रोसफ्टले लगातार १८ वर्षसम्म आफ्नो लाभांश भुक्तानी बढाएको छ, त्यसैले बाल्मरको वार्षिक लाभांश भुक्तानी २०२४ मा १ बिलियन डलर माथि पुग्ने र आगामी वर्षहरूमा बढ्ने सम्भावना रहेको बीजनेस इन्साइडरले रिपोर्टमा भनेको छ।

स्टिभ बाल्मर सन् २००० देखि २०१४ सम्म माइक्रोसफ्टका सीईओ थिए। हाल, उनी बाल्मर समूहका सह-संस्थापक हुन्, जुन परोपकारसँग सम्बन्धित लगानी कम्पनी हो। नोभेम्बर २०२३ सम्मको ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार १२२ बिलियन डलरको व्यक्तिगत सम्पत्ति भएको उनी विश्वको छैटौं धनी व्यक्ति हुन्।

माइक्रोसफ्टका संस्थापक बिल गेट्सले सन् १९८० मा स्टिभ बाल्मरलाई नियुक्त गरेका थिए। जनवरी २००० मा, उनी गेट्सको स्थानमा माइक्रोसफ्टको सीईओ बने। फेब्रुअरी २०१४ मा आफ्नो सेवानिवृत्ति पछि, उनले सत्य नडेलालाई माइक्रोसफ्टको सीईओको पद जिम्मा लगाएका थिए।

प्रकाशित: १३ पुष २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया