विश्वव्यापी चिपसेट बजारमा पाँचौं स्थान हासिल गर्दै ह्वावे किरिनको पुनरागमन

Technology Khabar १० पुष २०८०, मंगलवार

काठमाडौं ।

अमेरिकी प्रतिबन्ध र चिप अभावका कारण वर्षौंदेखि अवरोधहरू सामना गरिसकेपछि ह्वावेको किरिन प्रोसेसरले विश्वव्यापी चिपमेकरहरूको शीर्ष पाँचमा आफ्नो स्थान पुनः दाबी गर्दै पुनरागमन गरेको छ।

काउन्टरपोइन्ट रिसर्चको सन् २०२३ को तेस्रो त्रैमासको रिपोर्ट अनुसार चिप निर्माता हि-सिलिकन (पूर्ण रूपमा ह्वावेको स्वामित्वमा रहेको) विश्वव्यापी चिपसेट बजारको ३ प्रतिशत सेयरको साथ ५ औं स्थानमा रहेको छ। अमेरिकी सरकारले कालोसूचीमा राखेसँगै विकल्पहरू खोज्नका लागि संघर्ष गरिरहेको कम्पनीको लागि यो निकै महत्त्वपूर्ण रिकभरी हो।

ह्वावेको पुनरुत्थानको श्रेय धेरै हदसम्म मेट ६० सिरिजबाट सुरु भएको यसको सन् २०२३ को प्रोडक्ट अफरिङ्गलाई दिन सकिने उल्लेख छ। फाइभजी–इनेबल्ड किरिन ९०००एस प्रोसेसरले सुसज्जित स्मार्टफोन चीनमा तुरुन्तै हिट भएको थियो। साथै यसले गर्दा ह्वावे अन्ततः ग्लोबल चिपमेकरको दौडमा फर्किन सफल भएको हो।

त्यसैगरी मेट एक्स५ फोल्डेबल फोन र मेटप्याड प्रो १३.२ ट्याब्लेट जस्ता अन्य किरिन–पावर्ड डिभाइसहरूले पनि चीनका प्रयोगकर्ताहरूबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरेको र यसले गर्दा बजारमा कम्पनीको स्थितिलाई अझ बलियो बनाएको उल्लेख छ। साथै किरिन प्रोसेसर फिचर गर्ने मिड–रेञ्ज नोभा १२ सिरिजको लन्चका साथ कम्पनीका यो गति सन् २०२४ मा पनि जारी रहने अपेक्षा गरिएको छ।

ह्वावेको पुनरागमन प्रभावशाली रहेको बेला ४० प्रतिशत मार्केट सेयरको साथ क्वालकम भने प्रमुख खेलाडी बन्न सफल भएको छ। साथै यसको श्रेय धेरै हदसम्म प्रिमियम चिनियाँ फ्ल्यागशिपहरूमा क्वालकमको स्न्यापड्रागन ८ जेन २ प्रोसेसरको प्रयोगलाई जाने थप बताईएको छ।

त्यसैगरी गरी ३१ प्रतिशत सेयरको साथ एप्पल दोस्रो स्थानमा रहेको छ, जसलाई आईफोन १५ सिरिजले गति प्रदान गरेको छ।

आम्दानीको आधारमा मिडियाटेक १५ प्रतिशत सेयरको साथ तेस्रो र सामसङ ७ प्रतिशत बजार हिस्साका साथ चौथो स्थानमा रहेका छन्।

ह्वावे पछि युनिसक २ प्रतिशत बजार हिस्साको साथ छैटौं स्थानमा रहेको छ भने गुगलको टेन्सर एसओसीले पनि सूचीको सातौं स्थानमा रहँदा १ प्रतिशत बजार हिस्सा हासिल गरेको गीज्मोचाइनामा उल्लेख गरिएको छ।

प्रकाशित: १० पुष २०८०, मंगलवार

तपाइको प्रतिक्रिया