
काठमाडौं ।
भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले सन् २०२८ सम्ममा भारतको पहिलो अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन सुरु गर्ने घोषणा गरेको छ।
भारतले पछिल्लो डेढ दशकमा अन्तरिक्ष क्षेत्रमा ठूलो सफलता हासिल गरेको छ। चाहे त्यो चन्द्रमामा ल्यान्डर अवतरण गर्ने होस् वा मंगल ग्रहमा मिसन पठाउने होस् वा धेरै भूउपग्रहहरू अन्तरिक्षमा पठाउने काम होस् । अब भारतको लक्ष्य अन्तरिक्षमा आफ्नो स्पेस स्टेशन निर्माण गर्ने भएको भारतीय मिडियाहरुले रिपोर्ट गरेका छन्।
इसरोका अध्यक्ष एस सोमनाथले अन्तरिक्ष स्टेशनको प्रारम्भिक मोड्युल कहिले लन्च हुने जानकारी दिएका छन्। उनले आगामी पाँच वर्षभित्र अर्थात सन् २०२८ सम्ममा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनको प्रारम्भिक मोड्युल कक्षमा पठाइने बताए । पहिलो मोड्युल ८ टन तौलको हुनेछ।
उनले भने, “भारत अमृत काल भित्र आफ्नो ‘भारत स्पेस स्टेशन’ स्थापना गर्न चाहन्छ।”
हाल अन्तरिक्षमा दुईओटा अन्तरिक्ष स्टेशनहरू छन्, जसमध्ये एउटा चीनको ‘टियाङगोङ स्पेस स्टेसन’ हो भने अर्को ‘अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन’ हो, जसलाई दर्जनौं देशहरूले संयुक्तरूपमा तयार पारेका छन्।
चीनको तियाङगोङ अन्तरिक्ष स्टेशन सन् २०२२ देखि सञ्चालनमा छ। अहिले यसमा तीनजना अन्तरिक्ष यात्री पनि छन्। यो पृथ्वीबाट ४५० किलोमिटरको उचाइमा घुमिरहेको छ। चीनले यसअघि दुई ‘अस्थायी अन्तरिक्ष स्टेशन’ टियाङगोङ–१ र टियाङगोङ–२ पनि कक्षमा पठाएको थियो।
भारतले भविष्यमा चन्द्रमा र मंगल ग्रहमा पनि मानिस पठाउने विचार गरिरहेको छ। यस्तो अवस्थामा सो भारतीय अन्तरिक्ष स्टेशनले पृथ्वी बाहिरका अन्तरिक्ष यात्रीहरूको लागि आधार शिविरको रूपमा काम गर्नेछ।
प्रकाशित: ९ पुष २०८०, सोमबार