शेयरधनी परिवर्तन हुँदैमा सेवा र सुविधाहरुमा कुनै पनि अवरोध नहुने एनसेलको स्पष्टोक्त्ति

Technology Khabar १९ मंसिर २०८०, मंगलवार

शेयरधनी परिवर्तन हुँदैमा सेवा र सुविधाहरुमा कुनै पनि अवरोध नहुने एनसेलको स्पष्टोक्त्ति
एनसेल आजियाटा लिमिटेडको लैनचौरमा रहेको मुख्य कार्यालय । फाइल तस्बिर

काठमाडौं ।

एनसेल आजियाटा लिमिटेडले कम्पनीको शेयरधनी परिवर्तन हुँदैमा सेवा र सुविधाहरुमा कुनै पनि अवरोध नपर्ने बताएको छ।

निजी क्षेत्रको टेलिकम अपरेटर एनसेलले आज सामाजिक संजालमार्फत सार्वजनिक सूचना जारी गर्दै ग्राहकहरुलाई हाल प्रदान गरिँदै आएको हाम्रा सेवा र सुविधाहरुमा कुनै पनि अवरोध नपर्ने जानकारी दिएको हो।

हालै मलेशियन समूह आजियाटा ग्रुप बर्हादले एनसेलको ८० प्रतिशत शेयर स्वामित्व बेलायती कम्पनी ‘स्पेक्ट्रलाइट युके लिमिटेड’ लाई बेच्ने निर्णय गरेको थियो।

त्यस लगत्तै यसको शेयर खरिद बिक्रीका साथसाथै सेवा-सुबिधा कस्ले संचालन गर्ने भन्ने बारेमा सार्वजनिक चासो र प्रश्न रहँदै आएको छ। सोही अनुसार कम्पनीले त्यसबारेमा स्पष्ट पारेको हो।

कम्पनीले आफ्नो सिद्धान्त “हामी तपाईंकै लागि” मा अडिग रही, विगत १८ वर्ष जसरी नै आगामी दिनमा पनि उही उत्साह र समर्पणका साथ गुणस्तरिय दूरसञ्चार सेवा प्रदान गर्न हामी प्रतिबद्ध भएको उल्लेख गरेको छ।

“हाम्रा आदरणीय ग्राहकवर्ग तथा साझेदारलगायत समग्र १ करोड ६० लाख एनसेल परिवारलाई हार्दिक कृतज्ञता व्यक्त गर्दै भविष्यमा पनि नेपाल र नेपालीको विकास समृद्धिका लागि सदा समर्पित रहने वाचा गर्दछौं ।” संदेशमा भनेको छ।

प्रकाशित: १९ मंसिर २०८०, मंगलवार

तपाइको प्रतिक्रिया