
काठमाडौं ।
अमेरिकाको अन्तरिक्ष एजेन्सी नेशनल एरोनटिक्स एण्ड स्पेस एडमिनिस्ट्रेशन (नासा) ले भारतलाई आफ्नो अन्तरिक्ष स्टेशन निर्माणमा सहयोग गर्न अमेरिका तयार रहेको बताएको छ।
नासाका प्रशासक बिल नेल्सनले आफ्नो भारत भ्रमणका क्रममा अमेरिका र भारतले अर्को वर्षको अन्त्यसम्ममा एक भारतीय अन्तरिक्ष यात्रीलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा पठाउने योजना बनाएको बताएका थिए।
भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले अर्को वर्षको पहिलो त्रैमासिकमा नासासँगको संयुक्त लगानीमा अत्याधुनिक भूउपग्रह निसार (NISAR) प्रक्षेपण गर्ने मिडिया रिपोर्टमा उल्लेख छ।
भारतीय विज्ञान तथा प्रविधिमन्त्री जितेन्द्र सिंहसँगको भेटमा नेल्सनले दुई देशबीच अन्तरिक्ष क्षेत्रमा पारस्परिक सहयोग बढाउने विषयमा छलफल गरेका थिए। यस सम्बन्धमा, विज्ञान र प्रविधि मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “इसरोले गगनयानको मोड्युल माइक्रोमेटियोरोइड र अर्बिटल डेब्रिज प्रोटेक्शन शिल्डको परीक्षण गर्न नासाको हाइपरभेलोसिटी इम्प्याक्ट टेस्ट (एचभीआईटी) प्रयोग गर्ने सम्भावनालाई विचार गरिरहेको छ।”
सो भेटमा अमेरिकी राष्ट्रपति जो बाइडेनले अर्को वर्ष भारतीय अन्तरिक्ष यात्रीलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा पठाउने प्रस्तावमाथि पनि छलफल भएको बताईएको छ।
अर्को वर्ष भारतीय अन्तरिक्ष यात्रीहरूका लागि निजी अन्तरिक्ष यात्री मिसनको सम्भावना पनि नासाले विचार गरिरहेको छ। एक प्रश्नको जवाफमा नेल्सनले भारतले चाहेमा अमेरिका स्पेस स्टेशन निर्माणमा सहयोग गर्न तयार रहेको बताए। उनले भने, “मलाई लाग्छ भारतले सन् २०४० सम्ममा व्यावसायिक अन्तरिक्ष स्टेशन बनाउन चाहन्छ। यदि भारतले हामीसँग सहकार्य गर्न चाहन्छ भने हामी पक्कै उपलब्ध छौँ। तर, यो भारतमा निर्भर छ।”
यसअघिनै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले इसरोलाई सन् २०३५ सम्ममा भारतीय अन्तरिक्ष स्टेशन बनाउने र २०४० सम्ममा चन्द्रमामा अन्तरिक्ष यात्रीहरू अवतरण गर्ने लक्ष्य राख्न आग्रह गरेका छन्।
नासा र इसरोले संयुक्तरुपमा सिंथेटिक अपर्चर राडार (निसार(NISAR) करिब १.५ बिलियन डलरको लागतमा निर्माण गरिएको हो। यसलाई अर्को वर्ष भारतीय जीएसएलभी रकेटबाट प्रक्षेपण गरिने रिपोर्टमा उल्लेख छ।
प्रकाशित: १४ मंसिर २०८०, बिहीबार