टिकटकको विकल्पमा नेपाली युवाहरुले तयार पारेको मोबाइल एप ‘रमाइलो’ सार्वजनिक

  • Technology Khabar | ७ मंसिर २०८०, बिहीबार
टिकटकको विकल्पमा नेपाली युवाहरुले तयार पारेको मोबाइल एप ‘रमाइलो’ सार्वजनिक

काठमाडौं ।

नेपाली युवाहरूको लगानी तथा सक्रियतामा छोटो भिडियोहरूका लागि मोबाइल एप ‘रमाइलो’ सार्वजनिक भएको छ।

नेपालमा सन् २०१९ देखि सूचना तथा प्रविधि क्षेत्रमा क्रियाशील कम्पनी आईडिया जार डिजिटल कम्पनीले सञ्चालनमा ल्याएको सो एपमा भिडियो हेर्ने तथा अपलोड गर्ने, भिडियो एक्सप्लोर गर्ने, लाईक, कमेन्ट र शेयर गर्ने सुविधा, लाइभ गर्न मिल्ने सुविधा समेत दिएको छ।

कम्पनीले कन्टेन्ट क्रियटरलाई पनि केही समयपछि कन्टेन्ट र लोकप्रियता अनुसार निश्चित रकम दिँदै जाने योजना बनाएको जनाएको छ।

पछिल्लो समय सामाजिक सञ्जालहरूका छोटो भिडियो अपलोड गर्ने प्लेटफर्महरूले लोकप्रियता पाइरहेको थियो। नेपालको आफ्नै एप नहुँदा यसअघि सबै विदेशी एप नेपाली प्रयोगकर्ताहरूले प्रयोग गर्नुपर्ने बाध्यतालाई चिर्दै नेपाली उत्पादनका रूपमा मोबाइल एप नेपाली प्रयोगकर्ताहरू माझ आएको हो। नेपालमै बनेको यस एपलाई नेपाली प्रयोगकर्ताहरूले रुचाउने अपेक्षा कम्पनीको छ।

टिकटक, फेसबुक जस्ता सामाजिक सञ्जाललाई नियमनको दायरामा ल्याउन कठिन भएको सरकारले बताइरहेको यस समयमा नेपालकै कम्पनीले यस्तो एप विकास गर्दा नियमनमा पनि सहज हुने कम्पनीको भनाइ छ।

यस एपमा भिडियो निर्माणका क्रममा उच्छृङ्खल गतिविधि भएमा वा गैरकानूनी तथा अमर्यादित हर्कत भएमा त्यसलाई कानूनी दायरामा ल्याउनका लागि सरकारलाई सहयोग समेत गर्न प्रतिबद्ध भएको प्रेस नोटमा उल्लेख छ।

सामाजिक सद्भावमा असर पुर्याउने सामाग्री लगायतका गलत नियतका सामग्री प्रयोगकर्ताले अपलोड गरेमा एपको ‘कम्युनिटी गाइडलाइन्स’ अन्तर्गत भिडियो हटाउने, एकाउन्ट सस्पेन्ड गर्ने देखि एकाउन्ट नै सदाको लागि बन्द गराउने समेत गरिने बताईएको छ।

नेपाल सरकारको प्रचलित कानुनलाई सम्मान गर्दै आवस्यक सन्दर्भमा नेपाल सरकारका सरोकारवाला निकायसँग आवश्यक समन्वय र सहयोग गरिने कम्पनीले जनाएको छ।

रमाइलो एपमा १३ वर्ष उमेरभन्दा माथिका नागरिकले पहुँच राख्न सक्ने बताईएको छ।

यस एपलाई हाल गुगल प्ले स्टोरमा उपलब्ध छ भने केही दिनमै आईफोन प्रयोगकर्ताहरूले एप स्टोरबाट डाउनलोड गरी चलाउन सक्ने कम्पनीले जनाएको छ।

प्रकाशित: ७ मंसिर २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...