
काठमाडौं ।
दक्षिण कोरियाली इलेक्ट्रोनिक्स जायन्ट सामसङ इलेक्ट्रोनिक्सले चीनको सबैभन्दा ठूलो डिस्प्ले निर्माता बीओईसँग सम्बन्ध तोडेको छ।
बीओईलाई आफ्नो आपूर्तिकर्ता सूचीबाट हटाउने सामसङको निर्णय ‘प्याटेन्ट इन्फ्रिजमेन्ट एण्ड ट्रेड सिक्रेट थेप्ट एलिगेसन्स’ (प्याटेन्ट उल्लङ्घन र व्यापार गोप्य चोरी आरोपहरू) को सिरिजबाट उत्पन्न भएको उल्लेख छ।
हालैका महिनाहरूमा, सामसङ इलेक्ट्रोनिक्सको सहायक कम्पनी सामसङ डिस्प्लेले बीओई विरुद्ध आफ्नो ओएलईडी प्यानल र मोड्युल प्रविधिको दूरुपयोग गरेको आरोप लगाउँदै अमेरिकी अन्तर्राष्ट्रिय व्यापार आयोग (आईटीसी) मा उजुरी दायर गरेको छ।
सामसङ इलेक्ट्रोनिक्सका लागि लिक्विड क्रिस्टल डिस्प्ले (एलसीडी) प्यानलको प्रमुख आपूर्तिकर्ता रहेको बीओईले सन् २०२३ को पहिलो ६ महिनामा कम्पनीको टिभी प्यानल खरिदको करिब १० प्रतिशत ओगटेको उल्लेख छ।
यद्यपी, वर्षको तेस्रो त्रैमासिकमा बीओईलाई सामसङ इलेक्ट्रोनिक्सको डिभाइस एक्सपिरियन्स (डीएक्स) डिभिजनका लागि प्रमुख प्यानल आपूर्तिकर्ताहरूको सूचीबाट बाहिर गरिएको छ। लगभग साढे सात वर्षमा पहिलो पटक चिनियाँ कम्पनीलाई प्राथमिक आपूर्तिकर्ताको रूपमा समावेश नगरिएको उल्लेख छ।
बीओईसँगको सम्बन्ध विच्छेदले चिनियाँ कम्पनीको व्यवसायमा ठूलो प्रभाव पार्ने सम्भावना रहेको छ। बीओईले सामसङलाई प्रमुख ग्राहकको रूपमा गनिरहेको थियो भने यो सम्झौता गुमाउँदा कम्पनीको बटम लाईनमा चोट पुग्ने सम्भावना रहेको उल्लेख छ।
बीओई बाहेक सामसङ इलेक्ट्रोनिक्सले अब एलजी डिस्प्ले, शार्प र एयूओ लगायत अन्य आपूर्तिकर्ताहरूसँगको सहकार्य बढाउने अपेक्षा गरिएको छ।
एलजी डिस्प्लेले विशेष गरी आफ्नो चीनको एलसीडी कारखाना ग्वान्झौउमा उत्पादन बढाउने अनुमान गरिएको छ। सन् २०२३ को ९ मिलियन युनिट्सको ढुवानीलाई बढाएर सन् २०२४ मा १६ मिलियन युनिट्समा पुर्याउने सम्भावना रहेको गीज्मोचाइनामा उल्लेख छ।
प्रकाशित: २ मंसिर २०८०, शनिबार