४० करोड पुरस्कार राशीको पब्जी विश्वकपमा नेपाली टिम डीआरएस गेमिङको खेल आजदेखि

  • Technology Khabar | ३० कार्तिक २०८०, बिहीबार
४० करोड पुरस्कार राशीको पब्जी विश्वकपमा नेपाली टिम डीआरएस गेमिङको खेल आजदेखि

काठमाडौं ।

पब्जी मोबाइलको विश्वकपको रुपमा रहेको पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिप (पीएमजीसी) २०२३ मा नेपाली टिम डीआरएस गेमिङले आज (बिहीबार) देखि ग्रुप स्टेजमा प्रतिस्पर्धा गर्नेछ।

३ मिलियन अमेरिकी डलर अर्थात करिब ४० करोड रुपैयाँको कुल पुरस्कार राशीको प्रतियोगिता गत कार्तिक १६ गतेदेखि सुरु भइसकेको छ। ग्रुप एल्लोमा रहेको नेपाली टिम डीआरएस गेमिङको गेम आजदेखि सुरु हुनेछ।

पब्जी मोबाइल प्रो लिग (पीएमपीएल) साउथ एशिया च्याम्पियनसिप फल २०२३ बाट नेपाली टिमहरु पीएमजीसीमा छनोट हुन सकेका थिएनन्।

तर अघिल्लो संस्करणको पीएमजीसीमा उत्कृष्ट प्रदर्शन गर्दै दोस्रो स्थान हासिल गरेको डीआरएस गेमिङले स्पेसल इन्भाइट (विशेष निमन्त्रणा) मार्फत पीएमजीसी २०२३ खेल्ने मौका पाएको हो।

स्पेसल इन्भाइट मार्फत नेपाली टिम डीआरएस गेमिङ र रुसी टिम गैमिन ग्लेडिएटर्सले पीएमजीसीमा सहभागी हुने मौका प्राप्त गरेका हुन्।

ग्रिन र रेड ग्रुपमा रहेका टिमहरुले ग्रुप स्टेज खेलिसकेका छन्। जसमा ग्रुप ग्रिनबाट लुप्स, ए७ र स्टलवार्ट इस्पोर्ट्स तथा रेडबाट एनएसआर, एसटीई र एमआरपीएक्स फाइलन पुगिसकेका छन्।

आजदेखि फाइनल पुग्नका लागि नेपाली टिम डिआरएस सहित १६ टिमले चार दिनसम्म प्रतिस्पर्धा गर्नेछन्। प्रत्येक दिन ६ खेल हुनेछ। २४ खेल पछि अंक तालिकामा शीर्ष ३ स्थानमा रहने टिम सिधैं फाइनल पुग्नेछन् भने ४ देखि ११ औं स्थानमा आउने टिमले फाइनल पुग्नका लागि थप प्रतिस्पर्धा गर्नु पर्ने हुन्छ। १२ देखि १६ औं स्थानमा आउने टिमको यात्रा भने २४ खेल पछि समाप्त हुनेछ। प्रत्येक ग्रुपका ४ देखि ११ औं स्थानमा आउने टिमले सर्भाइवल स्टेजमा मौका पाउनेछन्। सर्भाइवल स्टेजमा शीर्ष १६ भित्र पर्ने टिमले लास्ट चान्स पाउनेछन्। लास्ट चान्समा शीर्ष ५ भित्र रहने टिमले फाइनल खेल्न पाउनेछन्।

ग्रान्ड फाइनल ८ डिसेम्बरदेखि १० डिसेम्बरसम्म खेलिनेछ। फाइनलमा ग्रुप स्टेजबाट ९ टिम, लास्ट चान्सबाट ५ टिम र स्पेसल इन्भाइटबाट आएका २ टिमबीच प्रतिस्पर्धा हुनेछ। स्पेसल इन्भाइटबाट आयोजक राष्ट्रबाट एस२जी र पीईएल प्वाइन्ट टाइटन ईस्पोर्ट्स क्लब सिधैं फाइलनमा छनोट भएका हुन्।

यस प्रतियोगितामा सहभागी टिमले न्यूनतम १० हजार अमेरिकी डलर पाउनेछन्। सहभागी टिमले अंक तालिकामा आधारमा थप पुरस्कार राशी बढ्नेछ।

फाइनलमा मात्र पुगेमा १५ हजार अमेरिकी डलर प्राप्त हुनेछ भने उपाधी जित्नेले ४ लाख अमेरिकी डलर पाउने छ।

प्रकाशित: ३० कार्तिक २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार