
काठमाडौं ।
नेपालगन्ज उपमहानगरपालिका भित्रका सडकमा रातो नम्बर प्लेटका ई रिक्सा चल्न नपाउने भएका छन्। इ–रिक्साका कारण ट्राफिक अव्यवस्था सँगै दुर्घटनाको जोखिम बढेपछि रातो प्लेटका ई रिक्सा सडकमा चल्न नदिइने भएको हो।
गतसाता शुक्रबार जिल्ला प्रशासन कार्यालय बाँकेमा सरोकारवालाहरूको उपस्थितिमा भएको सर्वपक्षीय बैठकले १५ दिनभित्र सडकबाट रातो प्लेटका इ–रिक्सा हटाउने निर्णय गरेको हो।
बैठकमा ९० प्रतिशत इ–रिक्सा चालक सँग चालक अनुमति पत्र नभएकाले त्यसलाई पनि कडाई गर्ने निर्णय गरिएको छ।
बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेल, बाँके प्रहरी प्रमुख सुवास चन्द्र बोहरा लगायत उपस्थित रहेको बैठकमा नेपालगन्ज नगर प्रमुख प्रशान्त विष्टले ई रिक्सा चालकलाई चालक अनुमति पत्र वितरणमा यातायात व्यवस्था कार्यालयले असहयोग गरेको बताएका छन्।
बैठकमा बाँके प्रहरी प्रमुख बोहराले रातो नम्बर प्लेटका ई रिक्सा हटाउनका लागि तत्कालै देखि तयारी थाल्ने बताए। बाँकेमा ई रिक्सा दुई किसिमले चल्दै आएका छन् ।
कालो प्लेट भएका ई रिक्साहरू यातायात कार्यालयमा भाडाको सावरीमा दर्ता भई यात्री ढुवानी गर्न पाउने अनुमति प्राप्त गरेका छन् । सो बापत उनीहरूले कानून अनुसार लाग्ने कर समेत तिर्नु पर्ने व्यवस्था छ।
रातो प्लेट भएको ई रिक्साले निजी सवारी साधनमा तत्कालीन गाविस वा नगरपालिका मार्फत दर्ता भई सञ्चालनमा रहेका छन्।
प्रकाशित: ३० कार्तिक २०८०, बिहीबार