नेपालको पहिलो इलेक्ट्रिक सवारी एप ‘ईड्राइभ नेपाल’ सञ्चालनमा

  • Technology Khabar | २५ कार्तिक २०८०, शनिबार
नेपालको पहिलो इलेक्ट्रिक सवारी एप ‘ईड्राइभ नेपाल’ सञ्चालनमा

काठमाडौं ।

नेपालमा पहिलो पटक इलेक्ट्रिक सवारी साधनलाई समेटेको राइड शेयरिङ एप ‘इड्राइभ नेपाल’ सञ्चालनमा आएको छ।

ईड्राइभ नेपाल कम्पनी प्रालिले १४ करोड रुपैंयाको लगानीमा इलेक्ट्रिक ट्याक्सी र स्कुटरबाट सेवा शुरु गरेको हो।

अन्य सेवाभन्दा सस्तो, नयाँ गाडी, दुर्घटना बीमा, ओपिटी प्रणाली र जिपिएस प्रणाली जडान गरी निकै सुरक्षित प्रविधिका साथ सञ्चालनमा ल्याइएकोले ‘इड्राइभ नेपाल एप’ सेवाग्राहीको आकर्षण हुने कम्पनीले जनाएको छ।

नेकपा एमालेको प्रतिनिधि सभाका सचेतक महेश बर्तौला, बागमती प्रदेशका उपसभामुख अप्सरा चापागाँई र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ‘इड्राइभ एप’ र ट्याक्सी सेवाको उद्घाटन गरेका थिए।

उक्त अवसरमा वर्तौलाले भने, ” इलेक्ट्रिक्स गाडिको प्रयोगले नेपालको विद्युतको खपत हुने, वातावरण संरक्षण हुने र पेट्रोलको खरिदमा अर्बौं रुपैंया विदेशिनबाट जोगिने हुनाले यसको भविष्य उज्वल छ।”

राष्ट्रिय सभा गृहमा उद्घाटन गरेसँगै ४० वटा नयाँ इलेक्ट्रिक्स ट्याक्सीले टुंडिखेलको एक चक्कर लगाएको थियो।

हाल कम्पनी आफैँले २० ओटा ट्याक्सी सञ्चालनमा ल्याइसकेको छ भने थप एक सय वटा ट्याक्सी सञ्चालन गर्ने तयारी गरिसकेको र त्यो खरिद प्रक्रिया अन्तिम चरणमा पुगिसकेको कम्पनीले जनाएको छ।

साथै ईड्राइभको अभियानमा नेपालमा रहेका अन्य इलेक्ट्रिक सवारी साधनहरू पनि क्रमश: जोडिंदै जाने कम्पनीले जनाएको छ।

ईड्राइभ नेपालका अध्यक्ष राजेश मास्केले भने “सेवाग्राहीहरू सुविधा सहित सुरक्षित रूपमा गन्तव्यमा पुर्‍याउनु ईड्राइभ नेपालको उद्देश्य हो।  साथै नेपालमा रोजगारीको नयाँ अवसर, इलेक्ट्रिक सेवाको उच्च प्रयोग, वातावरण संरक्षण, थुप्रै धनराशि बिदेसिनबाट जोगाउनु ईड्राइभ नेपालको अभियान हुनेछ।”

ईड्राइभ एपको भाडा अन्य सवारी सेवा भन्दा सस्तो छ भने निकै सुरक्षित रहेको जनाइएको छ।

ईड्राइभ सेवामा वान टाइम पासवर्ड (ओटिपी) प्रणालीको प्रयोग गरिएको छ। जसले सेवाग्राही र चालक बिच पासवर्ड मेल भएपछि मात्र सेवा प्रयोग हुनेछ। त्यसैगरी ईड्राइभ सुविधा लिने क्रममा दुर्घटना भएमा सेवाग्राहीलाई तोकिएको बिमा सुविधा प्राप्त गर्नेछन्।

त्यस्तै ईट्याक्सीमा जिपिएस जडान गरिएको बताईएको छ। त्यस्तै कम्पनीले आफ्नै ‘फास्ट चार्जिङ स्टेसन’ स्थापना गरेको छ। जसमा पार्किङ लटसहित ट्याक्सी, स्कुटरहरू चार्ज हुने उल्लेख छ।

ईड्राइभको राइड शेयरिङ एप नेपाली सफ्टवेयर इन्जिनियरहरूले नेपालमा बनाएको पहिलो एप भएको कम्पनीको दाबी छ।

प्रकाशित: २५ कार्तिक २०८०, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...