यस्ता छन् सामाजिक संजाल प्रयोगकर्ताले गर्नु नहुने १९ क्रियाकलाप

  • Technology Khabar | २३ कार्तिक २०८०, बिहीबार
यस्ता छन् सामाजिक संजाल प्रयोगकर्ताले गर्नु नहुने १९ क्रियाकलाप

काठमाडौं ।

सरकारले सामाजिक संजाललाई नियमन गर्ने निर्देशिका पास गरेको छ।

यहि कार्तिक २३ गते बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रिपरिषद् विधेयक समितिबाट पेश भएको सामाजिक सञ्जाल सञ्चालन निर्देशिका, २०८० परिमार्जनसहित स्वीकृत गर्ने निर्णय गरेको हो।

उक्त निर्देशिकामा नेपालमा सामाजिक सञ्जाल (फेसबुक, ह्वाट्सएप, एक्स, भाइबर लगायत) सञ्चालन गर्न सूचीकृत हुनुपर्ने प्रावधान राखिएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन्।

सामाजिक सञ्जाल सञ्चालनसम्बन्धी निर्देशिका २०८० का मुख्य

विशेषता सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालकको दायित्व

–सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालन गर्ने व्यक्ति वा संस्थाले यस निर्देशिका बमोजिम मन्त्रालयमा सूचीकरण गर्नुपर्नेछ।

–निर्देशिका जारी हुनु अघि सञ्चालनमा रहेका र जारी भएपछि सञ्चालनमा आउने सामाजिक सञ्जाल प्लेटफर्मलाई सूचीकृत गर्नको लागि मन्त्रालयले सार्वजनिक रुपमा सूचना प्रकाशन गर्नुपर्नेछ।

–निर्देशिका प्रारम्भ हुनुअघि सञ्चालनमा रहेका सामाजिक सञ्जाल प्लेटफर्म तीन महिना भित्र मन्त्रालयमा सूचीकरण हुनुपर्नेछ।

–सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालन गर्ने व्यक्ति वा संस्थाले आफै उपस्थित भई वा आफ्नो प्रतिनिधि वा अनलाइन माध्यमबाट समेत निवेदन दिन सक्नेछन।

–सूचीकृत नभएका सामाजिक सञ्जाल प्लेटफर्मलाई मन्त्रालयले जुनसुकै बखत बन्द गर्न सक्नेछ।

–सूचीकृत सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालन गर्ने व्यक्ति वा संस्थाले प्रत्येक तीन वर्षमा इजाजतपत्रको नवीकरण गराउनुपर्नेछ।

–सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालकले प्रचलित कानून विपरितको गतिविधिको प्रवर्द्धन गर्ने खालका सूचना, विज्ञापन र सामग्रीको प्रकाशन वा प्रसारण रोक्ने गरी सामाजिक सञ्जालमा प्रयोगकर्ताको संलग्नताको एलगोरिदम विकास र प्रयोग गर्नुपर्ने।

–सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालकले प्रचलित कानुनविपरित सामग्री प्रकाशन या प्रसारण भएको गुनासो प्राप्त भएमा सो को पहिचान र यकीन गरी सो सामग्री चौविस घण्टाभित्र हटाउने व्यवस्था गर्नुपर्ने।

–कसैले यस निर्देशिकामा उल्लिखित सामाजिक सञ्जालमा सम्प्रेषण गर्न नहुने विषयवस्तु सम्प्रेषण गरेको वा गर्न लागेको विषयमा सामाजिक सञ्जाल व्यवस्थापन इकाई वा सम्वद्ध नियामक निकायले त्यस्तो सामग्री हटाउन निर्देशन दिएमा तत्काल हटाउनुपर्ने।

-प्रयोगकर्ताका वैयक्तिक विवरण गोप्य राख्नुपर्ने गरी सुरक्षा मापदण्ड अवलम्बन गर्नुपर्ने र यस्ता विवरण सार्वजनिक गर्न वा अन्य प्रयोजनमा प्रयोग गर्न नहुने।

–प्रचलित कानून विपरित नहुने गरी मात्र विज्ञापन प्रकाशन वा प्रसारण गर्ने ।

–सामाजक सञ्जालको प्रयोगलार्य व्यवस्थित गर्न अन्तर्राष्ट्रिय विकसित सान्टाक्लारा सिद्धान्तको परिपालना गर्ने,

– सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालनबाट हुने कारोबारको भुक्तानी बैंकिङ प्रणलीबाट गर्नुपर्ने

–सामाजिक सञ्जाल प्रयोगकर्ताको हित र सुरक्षाको लागि आवश्यक सचेतना र शिक्षामूलक सामग्री निरन्तर रुपमा प्रकाशन वा प्रसारण गर्नुपर्ने।

-निर्देशिका जारी भएको ३ महिनाभित्र नेपालमा कार्यालय नभएका प्लेटफर्म सञ्चालकले नेपालभित्र सम्पर्क विन्दु (POINT OF CONTACT) को व्यवस्था गर्नुपर्ने।

-सामाजिक सञ्जालको प्रयोगका क्रममा आएका गुनासाको सम्बोधनको यथोचित व्यवस्था गर्ने।

-राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, सामाजिक सद्भाव विरुद्ध हुने सामग्री प्रकाशन वा प्रसारणमा रोक लगाउनुपर्ने,

-अन्य प्रचलित कानूनको परिपालना गर्नुपर्ने।

मन्त्रालयको भूमिका तथा जिम्मेवारी: सामाजिक सञ्जालका सम्बन्धमा मन्त्रालयको भूमिका तथा जिम्मेवारी देहाय बमोजिम हुनेछ:

-विचार तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान एवं संरक्षण गर्ने, गराउने।

-सामाजिक सञ्जालको प्रयोगसँग सम्वद्ध सरकारी निकाय तथा अन्य सरोकारबाला बीच समन्वय कायम गर्न अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने, गराउने।

-शैक्षिक पाठ्यक्रममा सामाजिक सञ्जालका विषय समावेश गर्न आवश्यक पहल गर्ने।

-सामाजिक सञ्जाल व्यवस्थापन इकाईको व्यवस्था गरी यसलाई स्रोत साधनयुक्त बनाउने।

-सामाजिक सञ्जाल प्रयोगका सन्दर्भमा विभिन्न निकाय तथा प्रयोगकर्तालाई लक्षित गरी सचेतनामूलक, शिक्षामूलक, अध्ययन, अनुसन्धानमूलक तथा क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्ने, गराउने।

सामाजिक सञ्जाल प्लेटफर्मको वर्गीकरण र गुनासो व्यवस्थापनः

-नेपालभित्र सञ्चालनमा रहेका सामाजिक सञ्जाल प्लेटफर्मलाई प्रयोगकर्ता संख्याको आधारमा दुई वर्गमा बाँडिएको छ । एक लाखभन्दा बढी प्रयोगकर्ता भएकालाई ठूला सामाजिक सञ्जाल प्लेटफर्म र सो भन्दा कम प्रयोगकर्ता भएका सामाजिक सञ्जाल प्लेटफर्मलाई साना सामाजिक सञ्जाल प्लेटफर्म मानिनेछ।

-ठूला सामाजिक सञ्जाल प्लेटफर्महरुले अनिवार्यरुपले आवासीय हिसावमा गुनासो सुन्ने अधिकारी र स्वनियमन परिपालनाको निगरानी गर्ने अधिकारीको व्यवस्था गर्नुपर्नेछ।

सामाजिक सञ्जाल व्यवस्थापन इकाईः सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालक वा सो को सम्पर्क विन्दुबाट गुनासो सुनुवाई नभएको वा सम्वद्ध निकायबाट प्रचलित कानून बमोजिम सामाजिक सञ्जालका विषयमा सम्बोधन हुनुपर्ने विषय सम्बोधन नभएको भनी प्राप्त गुनासोको सम्बन्धमा कार्य गर्न मन्त्रालयमा एक सामाजिक सञ्जाल व्यवस्थापन इकाई रहनेछ।

इकाईको जिम्मेवारी देहाय बमोजिम हुनेछ:

–सामाजिक सञ्जाल प्रयोगसंग सम्बन्धित गुनासो दर्ता गर्ने,

–बमोजिमको गुनासो दर्ता गर्दा सम्बन्धित व्यक्तिले आफू ठगिएको वा हैरानी वा गाली सम्वन्धी कन्टेन्टको स्क्रिनसट पेश गरे, नगरेको यकीन गर्ने,

–गुनासोसंग सम्बन्धित तथ्यको जाँच गर्ने,

–तथ्य जाँच, काउन्सिलिङ जस्ता कार्यमा खटिने इकाईमा कार्यरत जनशक्तिको क्षमता अभिवृद्धि गर्ने।

–आफ्नो कामकारवाहीलाई सूचना प्रविधिमैत्री बनाउन छुट्टै सूचना प्रविधि प्रणाली प्रयोगमा ल्याउन सक्नेछ।

–इकाईबाट सम्पादित कार्यको अभिलेख राख्ने।

–निर्देशिका विपरित प्रकाशित वा प्रसारित सामग्री हटाउन सम्बन्धित प्लेटफर्म सञ्चालक वा सोको सम्पर्क विन्दुलाई अठचालीस घण्टाभित्र लेखी पठाउने,

-प्रचलित कानुनविपरितकासामग्री सामाजिक सञ्जालमा प्रकाशन वा प्रसारण भएको गुनासो प्राप्त भएमा सो सम्बन्धमा सम्वद्ध निकायमा सम्बोधनको लागि लेखी पठाउने।

-सार्वजनिक जवाफदेहीको पदमा बहाल रहेको व्यक्तिले निर्देशिका विपरितको कार्य गरेको पाईएमा सम्बन्धित निकायमा लेखी पठाउने

-मन्त्रालयले उक्त इकाईमा आवश्यकता अनुसारका जनशक्तिको व्यवस्था गर्नेछ।

प्रयोगकर्ताले गर्न नमिल्ने क्रियाकलापहरु:

१. बेनामे वा छद्मभेषी पहिचान (फेक आइ. डि.) सिर्जना गर्न,

२. बेनामे वा छद्मभेषी पहिचान (फेक आइडी) मार्फत विषयवस्तु (कन्टेन्ट) उत्पादन गरी सेयर गर्ने वा अरूको विषयवस्तु (कन्टेन्ट) सेयर गर्ने वा टिप्पणी (कमेन्ट) व्यक्त गर्न वा कल गर्न,

३. कुनै समुदाय, जातजाति, लिंग, धर्म, उमेर, वर्ण, वर्ग, पेशा, सम्प्रदाय, वैवाहिक अवस्था, पारिवारिक अवस्था, शारीरिक तथा मानसिक अवस्था, उत्पत्ति, यौनिक अल्पसंख्यक, भाषाभाषी तथा कानुनले संरक्षण गरेका अन्य समूह वा वर्गलाई लक्षित गरी घृणा फैलाउने, सामाजिक सद्भाव र सहिष्णुतामा आँच आउने प्रकृतिका अभिव्यक्ति दर्शाउने शब्द, श्रव्य दृश्य, तस्बिर सेयर गर्ने एवम् ट्रोल बनाइ प्रकाशन र प्रसारण गर्न,

४. बालश्रम, मानव बेचबिखन, बहुविवाह, बालविवाह जस्ता क्रियाकलाप गर्न प्रोत्साहित गर्न,

५. अरूलाइ होच्याउने नियतले अपमानजनक शब्द, श्रव्यदृश्य, तस्बिर, ट्रोल बनाइ घृणायुक्त अभिव्यक्ति, गाली बेइज्जती गर्न, हेट स्पीच वा हेट स्पीच मानिने कार्य गर्न (स्पष्टीकरणः हेट स्पीच भन्नाले पोष्ट, सेयर वा कमेन्ट गरेको विषयले व्यक्ति, समूह वा समुदायमा हिंसा फैलने, सामाजिक सद्भाव बिग्रने जस्ता दुष्परिणाम निस्कन सक्ने खालका आवाज, शब्द, तस्बिर, भिडियोलाई सम्झनुपर्छ)

६. डिजिटल माध्यमको प्रयोगबाट कुनै व्यक्तिको तस्बिर विकृत रुपले परिमार्जन गरी प्रकाशन वा प्रसारण गर्न,

७. सार्वजनिक प्रकृतिका बाहेक निजी मामिलाका फोटो भिडियो अनुमतिबिना खिचेर प्रकाशन र प्रसारण गर्न,

८. अश्लील शब्द, तस्वीर, भिडियो, अडियो एनिमेसन प्रसारण, प्रकाशन, टिप्पणी गर्न,

९. बालबालिकालाई हानी पुर्‍याउने सामग्री तथा बालयौन शोषण, यौन दुर्व्यवहार, देह व्यापार जस्ता निषेधित क्रियाकलापलाई प्रोत्साहन गर्न,

१०. मित्थ्या सूचना, भ्रामक सूचना, दुष्प्रचार, सूचना तोडमरोड प्रकाशन वा प्रसारण गर्न,

११. साइबर बुलिङ मानिने कार्य गर्न, (स्पष्टीकरणः साइबर बुलिङ भन्नाले प्रविधिको प्रयोग मार्फत अन्य व्यक्तिलाई हतोत्साहित बनाउने,धम्क्याउने, हैरान पार्ने, गालीगलौच गर्ने, गलत सूचना स्प्रेषण गर्ने जस्ता कार्य सम्झनुपर्छ),

१२. लागुऔषध सेवनको प्रोत्साहन तथा कारोबार गर्न, गराउन,

१३. जुवा खेलाउने वा जुवा खेल्न प्रोत्साहन गर्न,

१४. आतंकवाद सम्बन्धी विषयवस्तुको प्रकाशन वा प्रसारण गर्न,

१५. सामाजिक सञ्जाल प्रयोग गरी कसैको आइडी तथा सूचना ह्याक गर्न,

१६. सामाजिक सञ्जाल प्रयोग गरी फिसिङ, इम्पोस्टर जस्ता कार्य गर्न,

१७. विभत्स तस्बिर, भिडियो कुनै सन्दर्भबिना नै पोस्ट वा सेयर गर्ने,

१८. प्रचलित कानुनले निषेध गरेका वस्तुहरूको विज्ञापन तथा कारोबार गर्न,

१९. प्रचलित कानुनले निषेध गरेका कृयाकलापहरू नक्कल गर्न तथा सेयर गर्न,

प्रकाशित: २३ कार्तिक २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Bajaj Nepal unveils the upgraded Dominar 400 in grand launch event

  • Technology Khabar
  • २३ कार्तिक २०८०, बिहीबार