बाँके जिल्ला प्रशासनले प्रयोगमा ल्यायो आफ्नै क्युआर कोड, सेवाका सम्बन्धमा सेवाग्राहीले सुझाव दिन सक्ने

  • Technology Khabar | १७ कार्तिक २०८०, शुक्रबार
बाँके जिल्ला प्रशासनले प्रयोगमा ल्यायो आफ्नै क्युआर कोड, सेवाका सम्बन्धमा सेवाग्राहीले सुझाव दिन सक्ने
सांकेतिक तस्बिर

काठमाडौं ।

जिल्ला प्रशासन कार्यालय बाँकेबाट प्राप्त हुने सेवाका सम्बन्धमा सेवाग्राहीले क्युआर कोड मार्फत सुझाव दिन सक्ने भएका छन्। सेवाग्राहीले आफूले प्राप्त गरेको सेवाका सम्बन्धमा आफ्नो अनुभूति, कर्मचारीको व्यवहार र कार्यालयकै मूल्याङ्कन गर्न सक्ने गरी क्युआर कोडको व्यवस्था गरिएको हो।

‘नागरिक रिपोर्ट कार्ड’ नाम दिइएको क्युआर कोड स्क्यान गरी त्यसमा सोधिएका प्रश्नहरूको उत्तर छनौट गर्दै सेवाग्राहीले सेवा प्रदान गर्ने कार्यमा संलग्न कर्मचारी र कार्यालयको मूल्याङ्कन गर्न सक्नेछन्।

प्राप्त भएको सेवाको गुणस्तर, कर्मचारीको बोलिबचन, व्यवहार, सास्ती वा झन्झट खेप्नु परे/नपरेको अनुभूति, राजस्व बाहेक अतिरिक्त पैसा तिर्नु परे/नपरेको, सेवा नपाएको अवस्थामा त्यसको चित्त बुझ्दो कारण पाए/नपाएको जस्ता तिता मीठा अनुभूति तथा भविष्यमा कर्मचारी र कार्यालयले गर्नुपर्ने सुधारका क्षेत्रहरू समेटिएका प्रश्नावली मार्फत सेवाग्राहीहरूले कर्मचारीको व्यवहारको मात्र नभई जिल्ला प्रशासन कार्यालय बाँकेको समग्र सेवा प्रवाहको अवस्थाबारे मूल्याकंन गर्न सक्ने भएका हुन्।

कार्यालयले प्रयोगमा ल्याएको क्युआर कोड मोबाइल फोन मार्फत स्क्यान गरी प्रत्येक सेवाग्राहीले पृष्ठपोषण दिन सक्ने गरी सुविधा मिलाइएको प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले जानकारी दिए। उक्त कोड मार्फत कार्यालयमा सेवा प्राप्त गर्न गएका सेवाग्राहीले मात्र नभई जुनसुकै स्थानमा रहेका व्यक्तिले पनि बाँके प्रशासनलाई सुझाव/सल्लाह दिन सक्ने उनले बताए।

सेवाग्राहीको आँखाबाट कर्मचारी र कार्यालयको छवि परीक्षण गर्न यो प्रविधि निकै उपयोगी हुने उनको विश्वास छ। यसअघि इलाम जिल्ला प्रशासनमा रहँदा पोखरेलले नै पहिलो पटक क्युआर कोड मार्फत मूल्याङ्कन गर्न सकिने पद्धतिको अभ्यास गरेका थिए।

प्रकाशित: १७ कार्तिक २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार