इन्टरनेट सेवा प्रदायकहरुले ल्याए चाडपर्व विशेष अफर, यस्ता छन् सुबिधा

Technology Khabar ६ कार्तिक २०८०, सोमबार

काठमाडौं ।

नेपालीहरुको महान चाड दशैं तिहार तथा छठ लगायतका विभिन्न पर्वहरुको अवसरमा नेपालका विभिन्न इन्टरनेट सेवा प्रदायकहरुले ग्राहकहरुका लागि भनेर विभिन्न प्याकेज र अफरहरु ल्याएका छन्।

नेपालमा हाल वर्ल्डलिंक कम्युनिसेन्स, नेपाल टेलिकम, क्लासिक टेक, भायनेट, सुबिसु, डिशहोम, वेबसर्फर, टेकमाइन्ड्स नेटवर्क, ब्रोडलिंक, सीजी नेट र सिम्पल मिडियालगायतका अन्य थुप्रै इन्टरनेट सेवा प्रदायकहरुले अफर ल्याएका छन्।

वर्ल्डलिंक कम्युनिसेन्सको २४ जोडीले दुबई घुम्ने मौका !

बडादशैंको अवसरमा वर्ल्डलिंक कम्युनिसेन्सले आफ्ना ग्राहकहरुका लागि भनेर वर्ल्डलिंक खल्ति दुबई टूर, सामसङ प्रोडक्टहरुमा रु १५,००० सम्मको क्यास छुट र बोट एयरड्रप्स १७० मा रु १,६९९ (पुरानो मूल्य रु ३,२९९) गरी तीन ओटा अफर ल्याएको छ। वर्ल्डलिंकको यस अफर अन्तर्गत खल्तिबाट वर्ल्डलिंकको ३ वा १२ महिनाको पेमेन्ट गरेर २४ भाग्यसाली जोडीले दुबई घुम्न जाने मौका जित्न सक्ने छन्।

क्लासिक टेकको दशैं तिहारको खुसियाली ! नेट, टीभी र राउटर यसपाली !!

क्लासिक टेकले ल्याएको ‘दशैं तिहारको खुसियाली ! नेट, टीभी र राउटर यसपाली ! !’ अफर अन्तर्गत इन्टरनेट न्यू इन्स्टलेसन (नयाँ इन्टरनेट जडान) प्याकेज तर्फ २००एमबीपीएस मासिक ९०० रुपैँया (वार्षिक १३, ४५५) र १२५ एमबीपीएस मासिक ७०० (वार्षिक ८,४००) रुपैँयामा जडान गर्दा जेडटीई फाइभगिगाहर्ज राउटर र आईपीटीभी सित्तैमा प्राप्त गर्न सकिने जनाइएको छ। साथै ३२ इन्च र ४३ इन्चको भिडियोकोन स्मार्ट टिभीमा फ्ल्याट ४० प्रतिशत क्यास डिस्काउन्ट प्राप्त गरिने उल्लेख छ भने अफरमा नुबिया नियो फाइभजी र अनर एक्स५ एयरबड्स पनि रहेको उल्लेख छ। त्यसका साथै मात्र ९९९ रुपैँयामा सेकेन्डरी राउटर पनि उपलब्ध रहेको छ।

भायनेटको चाडमा चौका अफर

भायनेटको ल्याएको ‘यसपालीको दशैं तिहार चाडबाडमा चौका, भायानेटको इन्टरनेटसँग चार डिस्काउन्ट पक्का’ अफर अन्तर्गत कम्पनीले १२५ एमबीपीएस इन्टरनेट सेवा वार्षिक शुल्क ८,४०० रुपैँयामा उपलब्ध गराउने भएको छ। त्यसका साथै अफरमा भायानेटका ग्राहकहरुले अल्टिमा एयर बड्स, हिमस्टार अप्लायन्सेज (टिभी, वासिङ्ग मेसिन र रेफ्रिजेरेटर) मा ५० प्रतिशत सम्मको छुट दिने उल्लेख छ।

नेपाल टेलिकमले चाडपर्व अफर

नेपाल टेलिकमले एनटी फाइबर (NT Fiber) सेवामा प्रोमोसनल अफरका रुपमा थप स्पिड उपलब्ध गराउने भएको छ। नेपाल टेलिकमले असोज २५ गतेदेखि लागु हुनेगरी एनटी फाइबर सेवालाई थप आकर्षक बनाउन हाल उपलब्ध गराउँदै आएको स्पिडलाई २५० प्रतिशतसम्म पुग्नेगरी व्याण्डविथमा बढोत्तरी गरिएको जनाएको छ।

यस अफरमा हाल १० एमविपीएस गतिको इन्टरनेट प्रयोग गरिरहनु भएका सेवाग्राहीले सोही मूल्यमै २५ एमविपीएस र २० वा ३० एमविपीएस गतिको इन्टरनेट चलाइरहनुभएका सेवाग्राहीले सोही मूल्यमा ५० एमविपीएसको सेवा प्रयोग गर्न सक्नुहुनेछ। यसैगरी ४० एमविपीएस गतिको सुविधा प्रयोग गरिरहनुभएका ग्राहकहरुले सोही मूल्यमा अबदेखि १०० एमविपीएसको सेवा प्राप्त गर्नेछन्।

हाल ८० एमविपीएस सेवा लिइरहनु हुने सेवाग्राहीहरुलाई पुरानै दरमा १५० एमविपीएस गतिको सेवा उपलब्ध हुनेछ। यसका साथै हाल उपलब्ध हुँदै आएको फेयर युजेज पोलिसी (Fair Usage Policy) लिमिटलाई समेत बढोत्तरी गरिएको उल्लेख छ।

साथै हाल ३० एमविपीएस र सो भन्दा माथिको एक वर्षको प्याकेज लिंदा दैनिक ३०० एमबी डाटा सेवाको सुविधा पनि उपलब्ध हुने बताईएको छ।

डिशहोम फाइबरनेटको अफर, एक वर्षको नयाँ कनेक्सनमा २ बर्षको सेवा

बडा दशैंको पहिलो दिन अर्थात घटस्थापनाको दिनदेखि लागुहुने गरी डिशहोम फाइबरनेटले १ वर्षको नयाँ कनेक्सन गर्दा अब आफ्ना ग्राहकहरुलाई २ बर्षसम्म ईन्टरनेटको सेवा दिने अफर सार्वजनिक गरेको छ।

यस अफर अन्तर्गत नयाँ ग्राहकले ५० एमबिपिएसदेखी ३०० एमबिपिएस सम्मका प्याकेजहरु जडान गर्न सक्नेछन्। जसमा, ग्राहकले ५० एमबिपिएसदेखि २५० एमबिपिएससम्म फाईभ–जी राउटर पाउनेछन भने ३०० एमबिपिएसको प्याकेज लिने ग्राहकले वाईफाई–६ राउटर पाउने छन्।

यसअघि एसियाकपमा नेपाल र भारतको खेलको खुसीयालीमा डिशहोम फाइबरनेटले आफ्ना पुराना ग्राहकहरुको लागि १२ महिनाको रिचार्ज गर्दा अतिरिक्त १२ महिनाको सब्सक्रिप्सन निःशुल्क पाउने अफर ल्याएको थियो।

एक वर्षको नयाँ कनेक्सनमा २ बर्षको सेवा अफर घटस्थापना (असोज २८) देखि पूर्णिमा (कार्तिक ११) सम्म मात्र लागु हुने कम्पनीले जनाएको छ।

सुबिसु मंगलमय अफर

यस दशैं तिहारमा सुबिसुले इन्टरनेटमा भारी छुट ल्याएको छ। ‘सुबिसु मंगलमय अफर अन्तर्गत’ २००एमबीपीएस इन्टरनेट प्याकेज वार्षिक १२, ४९९ रुपैयाँ र ३००एमबीपीएस इन्टरनेट प्याकेज वार्षिक १६,९९९ रुपैयाँका साथै ८० एमबीपीएस इन्टरनेट प्याकेज मासिक ८१२ रुपैयाँमा उपलब्ध गराएको छ। ‘डिस्काउन्ट पनि क्यासब्याक पनि’ अफरमा सेलपे मार्फत रु ५०० सम्मको क्यासब्याक, क्लियर टिभी सहितको ३२ इन्चको एन्ड्रोइड टिभीलाई २०,००० रुपैँया र क्लियर टिभी सहितको ४३ इन्चको एन्ड्रोइड टिभीलाई ३१,००० रुपैँयामा उपलब्ध गराएको उल्लेख छ।

वेबसर्फर दशैं फेस्टिभ अफर

वेबसर्फरले दशैं तिहार अवसरमा ग्राहकहरुका लागि भनेर विशेष इन्टरनेट प्याकेजहरु ल्याएको छ। वेबसर्फरले ७५एमबीपीएसको मासिक शुल्क ६५० रुपैँया, १००एमबीपीएसको मासिक शुल्क ७६५रुपैँया, १५०एमबीपीएसको मासिक शुल्क ८७५ रुपैँया, ३००एमबीपीएसको मासिक शुल्क ,११२५ रुपैँयामा उपलब्ध गराएको छ। त्यसैगरी कम्पनीले १००एमबीपीएस फाइबरनेटको मासिक शुल्क ८७५ रुपैँया, १००एमबीपीएस फाइबरनेट र टिभीको मासिक शुल्क १०४० रुपैँया, २५०एमबीपीएस फाइबरनेट र टिभीको मासिक शुल्क ११२५ रुपैँया उपलब्ध गराउनसका साथै उक्त सबै इन्टरनेट प्याकेजहरुमा राउटर, फाइबर, ट्याक्सेस पनि समावेश गरिएको उल्लेख छ।

प्रकाशित: ६ कार्तिक २०८०, सोमबार

तपाइको प्रतिक्रिया