Technology Khabar २ कार्तिक २०८०, बिहीबार
काठमाडौं ।
नेपालमा मोबाइल बैंकिङको प्रयोगकर्ता बढ्दो क्रममा देखिएको छ। नेपाल राष्ट्र बैंक सार्वजनिक गरेको २०८० भदौको मासिक भुक्तानी प्रणाली सूचक अनुसार मोबाइल बैंकिङको प्रयोगकर्ता बढ्दो क्रममा देखिएको हो।
साउनको तुलनामा भदौमा मोबाइल बैंकिङको प्रयोगकर्ता २ लाख ६६ हजार २१८ जनाले बढेको छ। साउनमा मोबाइल बैंकिङ प्रयोगकर्ता २ करोड १६ लाख ९१ हजार ४७४ रहेकोमा भदौमा २ करोड १९ लाख ५७ हजार ६९२ पुगेको छ।
मोबाइल बैंकिङको प्रयोगकर्ताको संख्या बढेको देखिए पनि कारोबार रकम भने थोरैले घटेको देखिन्छ। साउनमा २ खर्ब ४२ अर्ब ९१ करोड ५० लाख रुपैयाँ भुक्तानी भएकोमा भदौमा २ खर्ब ४२ अर्ब २६ करोड १० लाख रुपैयाँ भुक्तानी भएको छ।
तर साउनको तुलनामा भदौमा मोबाइल बैंकिङ मार्फत हुने कारोबार संख्या भने बढेको देखिन्छ। साउनमा २ करोड २२ लाख ५ हजार ९४७ पटक कारोबार भएमा भदौमा २ करोड २४ लाख १४ हजार ५७६ पटक कारोबार भएको छ।
मोबाइल बैंकिङबाट वालेटमा टपअप गर्न सकिनुका साथै क्यूआर मार्फत भुक्तानी गर्न सकिने भएकाले पनि यसको प्रयोग बढ्दो छ। साथै बैंकहरु पनि खाता खोल्न आउने ग्राहकहरुका लागि मोबाइल बैंकिङ प्रयोग गर्न प्रोत्साहन गर्दा पनि यसको प्रभावकारिता बढ्दो क्रममा देखिएको हो।
प्रकाशित: २ कार्तिक २०८०, बिहीबार