
काठमाडौं ।
जुलाई देखि सेप्टेम्बर बीचको यस वर्षको तेस्रो त्रैमासिक भर्खरै सकिएको छ। बजार विश्लेषक काउन्टरपोइन्ट रिसर्चको भर्खरैको रिपोर्टअनुसार एप्पल र सामसङले सन् २०२३ को दोस्रो त्रैमासमा १० स्थान ओगटेर ग्लोबल स्मार्टफोन सेल्स (विश्वव्यापी स्मार्टफोन बिक्री) मा प्रभुत्व जमाएको थियो।
यसै क्रममा अब, मार्केट रिसर्च (बजार अनुसन्धान) फर्मले यस वर्षको तेस्रो त्रैमासिकमा स्मार्टफोन बजार घटेको रिपोर्ट गरेको छ। अपेक्षित गरे अनुरूप स्मार्टफोन मार्केटमा विश्वव्यापी रूपमा नै मन्दी देखिएको जनाइएको छ।
अघिल्लो वर्षको सोही अवधिको तुलनामा ढुवानी तर्फ वार्षिक ८ प्रतिशतले घटेको उल्लेख गरिएको छ।
ग्लोबल स्मार्टफोन सेल्स (विश्वव्यापी स्मार्टफोन बिक्री) ले लगातार नवौं त्रैमासिकमा गिरावट दर्ता गरेको र २०२३ को तेस्रो त्रैमासिक वार्षिक रुपमा ८ प्रतिशतले घट्को उल्लेख गरिएको छ। यद्यपि, २०२३ दोस्रो त्रैमासको तुलनामा भने २ प्रतिशतले बढेको उल्लेख गरिएको छ।
काउन्टरपोइन्टले ढुवानीमा आएको गिरावटलाई उपभोक्ता माग रिकभरीमा भएको सुस्ततालाई दोष दिएको छ। त्यसैगरी यसको उज्यालो पक्षमा भने रिसर्च फर्मले आईफोन १५ सिरिज, भारतको चाडपर्वको मौसम, चीनको ११.११ सेल्स र छुट्टीको अवसरका कारण सेप्टेम्बर त्रैमासिकको गतिलाई वर्षको अन्त्यसम्म लैजान सक्ने अपेक्षा गरेको छ।
त्यसैगरी तेस्रो त्रैमासिकमा वार्षिक दरको वृद्धि बढाउने एक मात्र क्षेत्र एमईए भएको र विकसित बजारहरूले भने उल्लेखनीय गिरावट अनुभव गरेको चौथो त्रैमासको बिक्रीमा रिबाउन्ड देख्ने अपेक्षा गरिएको रिसर्च फर्मले रिपोर्ट गरेको गीज्मोचाइनामा उल्लेख छ।
काउन्टरपोइन्टका अनुसार सामसङले २० प्रतिशत बजार हिस्साका साथ तेस्रो त्रैमासिकमा ग्लोबल स्मार्टफोन मार्केट (विश्वव्यापी स्मार्टफोन बजार) को नेतृत्व गरेको छ। कम्पनीको ए–सिरिजका डिभाइसहरूले बिक्रीमा प्रभुत्व जमाउन सफल भएको जनाइएको छ भने फ्लिप ५ ले फोल्ड ५ लाई ‘आउटसेलिङ्ग’ गर्दै पाँचौं पुस्ताका फोल्डेबलहरूले मिश्रित प्रतिक्रिया प्राप्त गरेको छ।
त्यसैगरी कुपर्टिनो आधारित एप्पलले आईफोन १५ सिरिजको सीमित उपलब्धताको बाबजुद १६ प्रतिशत बजार हिस्साका साथ दोस्रो स्थान हासिल गरेको छ।
शाओमी तेस्रो स्थानमा आउन सफल भएको छ भने भिभो र ओप्पो क्रमशः चौथो र पाँचौं स्थानमा रहेका छन्। तीन ओटा चिनियाँ ब्रान्डहरूले भारतसँगै स्वदेशमा आफ्नो स्थान बलियो बनाएको र विदेशको विस्तारमा पनि कटौती गरेको उल्लेख गरिएको छ।
यसैबीच, ३४ प्रतिशत बजार हिस्सा अनर, ह्वावे र ट्रान्ससन ग्रुपलगायत अन्य ब्राण्डहरुको रहेको उल्लेख गरिएको छ।

प्रकाशित: १ कार्तिक २०८०, बुधबार