नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल नियुक्त

Technology Khabar १७ आश्विन २०८०, बुधबार

काठमाडौं ।

सरकारले नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को निमित्त प्रबन्ध निर्देशकमा कम्पनीका नायव प्रबन्ध निर्देशक संगीता पहाडी अर्याललाई नियुक्त गरेको छ।

नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको असोज १७ गतेको निर्णय (मन्त्रीस्तर) अनुसार उनलाई कम्पनीको प्रबन्ध निर्देशक पदमा अर्को व्यवस्था नभएसम्मका लागि निमित्त प्रबन्ध निर्देशक भई कामकाज गर्न तोकिएको छ।

उनले कम्पनीको नायव प्रबन्ध निर्देशकको रुपमा प्रमुख प्राविधिक अधिकृतको कार्यभार सम्हाल्दै आएकी थिईन्। आज असोज १७ गतेदेखि निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हालेको टेलिकमले जनाएको छ।

 

नवनियुक्त निमित्त प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले भारतको अलाहावाद युनिभर्सिटीबाट बीई र थाइल्यान्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट एमई गरेकी छन्।

उनले २०४९ चैत २३ गते तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इन्जिनियर पदमा अस्थायी नियुक्ति लिएर सेवा प्रवेश गरेकि हुन भने २०५१ फाल्गुण १० गते स्थायी नियुक्ति लिएकी  थिईन। उनी २०७८ माघ १८ गते नायव प्रबन्ध निर्देशक नियुक्त भएकी थिईन्।

पदभार ग्रहण गर्दै नवनियुक्त निमित्त प्रबन्ध निर्देशक अर्यालले सबैको सहयोगको अपेक्षा सहित कम्पनीको उत्तरोत्तर प्रगतिका लागि अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरिन।

यसअघि नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेल तथा बहालवाला सचिव मधुकुमार मरासिनीसहित ९ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेशनल पेमेन्ट गेट–वे प्रकरणमा २३ करोड भन्दा धेरै माग दाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेसँगै पौडेल निलम्बनमा परेका थिए।

उनको पद निलम्बन भएसँगै पहाडीलाई सरकारले नयाँ जिम्मेबारी दिएको हो।

हेर्नुस् समाचार-

नेपाल टेलिकमका प्रबन्ध निर्देशक पौडेल र सचिव मरासनीसहित ९ जनाविरुद्ध २३ करोड भ्रष्ट्राचारको मुद्दा

प्रकाशित: १७ आश्विन २०८०, बुधबार

तपाइको प्रतिक्रिया