सामाजिक सञ्जालको दुरुपयोग बढ्दै

Technology Khabar १७ आश्विन २०८०, बुधबार

सामाजिक सञ्जालको दुरुपयोग बढ्दै
सांकेतिक तस्बिर। फ्रिपिक डटकमको सहयोगमा।

काठमाडौं ।

मकवानपुरमा सामाजिक सञ्जालको दुरुपयोग गरी गरिने बिद्युतीय अपराधका घटना बढ्दै गएका छन्। व्यक्तिगत प्रयोजनका सामाजिक सञ्जालको नक्कली आइडी बनाउने, आइडी ह्याक गर्ने, अनलाइन ठगी गर्नेलगायतका घटना बढेको हो।

जिल्ला प्रहरी कार्यालयकाअनुसार मकवानपुरमा आर्थिक वर्ष २०७७/७८ मा सामाजिक सञ्जालको नक्कली आइडी बनाएको भन्दै १०१ जनाले र आइडी ह्याक गरेको भन्दै ३९ जनाले गरी १४० जनाले प्रहरी कार्यालयमा निवेदन दर्ता गराएका थिए। आव २०७८ /७२ मा फेक आइडी बनाएर ७० जना र आइडी ह्याक गरेर ६७ जना गरी १३७ जनाले टुःख दिएको भन्दै उजुरी प्रहरीसमक्ष दिएका थिए।

आब २०७९/८० मा नक्कली आइडी बनाएको भन्दै २३ र आइडी ह्याक गरेको भन्दै ७५ ओटा तथा चालू आवको साउन र भदौमा गरी नक्कली आइडी बनाएको विरुद्धमा ११ र आइडी ह्याक गरेको बिरुद्धमा ५१ ओटा गरी ६२ वटा उजुरी प्रहरीमा दर्ता भएको प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए।

उनले फरक व्यक्तिको आइडी ह्याक गरी म्यासेन्जरमार्फत आपत्विपत् भयो भन्दै आइडी ह्याक गरिएको साथीभाइ वा आफन्तसँग पैसा माग्ने वा सामाजिक प्रतिष्ठामा आँच आउने गरी अनावश्यक विषयवस्तु पोस्ट गरेको भन्दै उजुरी आउने गरेको जानकारी दिए।

उनले सामाजिक सञ्जालबाट हुने सामान्य समस्यामा यहाँबाट अनुसन्धान गरी कानुनी कारबाही गर्ने गरेको भन्दै विशेष प्रकृतिका घटना सिआइबीमा पठाउने गरिएको बताए।

प्रहरी कार्यालयमा पछिल्लो समयमा अनलाइन ठगी भएको भन्दै उजुरी पर्न थालेको छ। गत आवमा अनलाइन ठगीका विरुद्धमा २५ वटा उजुरी परेकोमा तीन ओटाको कारबाही गरी काम भएको र बाँको अनुसन्धानका क्रममा रहेको पाइएको छ । चालु आवको साउन र भदौमा अनलाइन ठगीसम्बन्धी जिल्ला प्रहरी कार्यालय मकवानपुरमा चार वटा उजुरी दर्ता भएकोमा एउटाको काम भएको र तीन वटा छानबिनको प्रक्रियामा रहेको जनाइएको छ।

प्रहरी कार्यालयमा मोबाइल फोन हराएको वा चोरी भएको भन्दै प्रहरी कार्यालयमा निवेदन दर्ता गर्ने क्रम पछिल्ला वर्षमा बढ्दै गएको छ तर न्यून सख्यामा मात्र मोबाइल फेला पर्ने गरेको प्रहरी कार्यालयको तथ्याङ्कले देखाएको छ। गत तीन आवमा एक हजार ७६९ मोबाइल हराएको वा चोरी भएको भन्दै प्रहरोमा निवेदन परेकामा २०८ वटा मोबाइल फेला परेको छ।

मोबाइल एसोसिएसन अफ नेपाल बागमती प्रदेशका अध्यक्ष एसिस रिजाल नेपालमा खरिद गरी मोबाइल डिभाइस मेनेजमेन्ट सिस्टम (एमडिएमएस) मा दर्ता भएको मोबाइल मोरी वा हराएमा फेला पार्न सहज हुने बताउँछन्।

पछिल्लो समय कानुनी जटिलताका कारण पनि प्रहरीले मोबाइल खोजी कार्यमा कम चासो राख्नेको पाइन्छ। हराएको मोबाइल खोज्न प्रहरीले अदालतबाट अनुमति लिनुपर्ने बाध्यता छ। गोरखापत्रबाट

प्रकाशित: १७ आश्विन २०८०, बुधबार

तपाइको प्रतिक्रिया