
काठमाडौं ।
एप्पल सहित लाखौं डिभाइसहरुमा डिफल्ट सर्च इन्जिनको रुपमा गुगल रहेको हुन्छ। एप्पल आफ्नो उत्पादनमा तेस्रो पार्टी टेक्नोलोजीको प्रशंसक भने हैन। रिपोर्ट अनुसार एप्पलले आफ्नै सर्च इन्जिन विकास गरिरहेको छ। नयाँ सर्च इन्जिन मार्फत एप्पलले आफ्नो उत्पादनबाट गुगललाई प्रतिस्थापन गर्ने योजना बनाएको छ।
ब्लूमबर्गका मार्क गुरम्यानले एप्पलले वर्षौंदेखि खोज टेक्नोलोजीमा काम गरिरहेको रिपोर्ट गरेका छन्। यसका लागि एप्पलले अझै लामो यात्रा तय गर्न बाँकी छ। एप्पलको आफ्नै सर्च टेक्नोलोजी पूर्ण रुपमा सञ्चालनमा आए पछि एप्पल प्रयोगकर्ताले गुगलको भन्दा थप एकीकृत र प्राइभेट सोलुसन प्राप्त गर्नेछन्।
एप्पलले पहिले नै आफ्ना केही एपहरूमा आफ्नो सर्च टेक्नोलोजीको साना प्रयोगका केसहरू परीक्षण गरिरहेको छ। एप्पलको सर्च प्रयासहरू स्पटलाइटमा स्पष्ट रूपमा देख्न सकिन्छ, जसले प्रयोगकर्ताहरूलाई उनीहरूको डिभाइसहरूमा चीजहरू फेला पार्न मद्दत गर्दछ।
‘केही आईओएस र म्याकओएस भर्सनमा एप्पलले यस टूलमा वेब सर्च परिणाम थप्न सुरु गरेको थियो। जसले प्रयोगकर्ताहरूलाई सीधै ती साइटहरूमा इंगित गर्थ्यो जसले उनीहरुको प्रश्नहरूको जवाफ दिन सक्छ। समयमा विभिन्न चरणमा ती परिणामहरू माइक्रोसफ्ट कर्पोेरेशनको बिंग वा अल्फाबेट इंकको गुगलद्वारा संचालित थिए। सिरीले पनि वेब नतिजाहरू प्रस्ताव गर्नको लागि त्यो टेक्नोलोजी प्रयोग गर्दछ,’ ब्लूमबर्गले लेखेको छ।
सर्च टेक्नोलोजीमा एप्पलको चासो बिंग सर्च इन्जिनको खरिदका लागि माइक्रोसफ्टसँगको अफवाह बैठकबाट पनि स्पष्ट हुन्छ। यद्यपि क्युपर्टिनो कम्पनीले खरिदको लागि अगाडि बढेन, खोजपूर्ण वार्ताले कम्पनीको चासो पुष्टि गर्छ।
यदि एप्पलले आफ्नो उत्पादनबाट गुगललाई प्रतिस्थापन गरेमा गुगलको राजश्वमा ठूलो गिरावट आउन सक्छ।
प्रकाशित: १५ आश्विन २०८०, सोमबार