आईफोन १६ प्रो मा १५ प्रो म्याक्स जस्तै ‘टेट्राप्रिज्म टेलिफोटो लेन्स’ राखिने अपेक्षा

  • Technology Khabar | १० आश्विन २०८०, बुधबार
आईफोन १६ प्रो मा १५ प्रो म्याक्स जस्तै ‘टेट्राप्रिज्म टेलिफोटो लेन्स’ राखिने अपेक्षा

काठमाडौं ।

एप्पलले आफ्नो नयाँ आईफोन लाइनअपलाई केही क्वालिटि–अफ–लाईफ अपग्रेडको साथ घोषणा गरेको छ। साथै आईफोन १५ प्रो म्याक्स ५एक्स अप्टिकल जुम सहितको नयाँ पेरिस्कोप क्यामरा फिचर गर्ने एक मात्र डिभाइसको रूपमा आएको छ।

त्यसैगरी यो लेन्स आगामी वर्षको आईफोन १६ प्रो म्याक्समा पनि रहने अपेक्षा गर्नु स्वाभाविक हो। यद्यपि, आपूर्ति श्रृंखला विश्लेषक मिंग–ची कुओको नयाँ रिपोर्टअनुसार आईफोन १६ प्रो मा पनि उही टेट्राप्रिज्म टेलिफोटो क्यामरा लेन्स फिचर हुने अपेक्षा गरिएको र यसले दुई मोडललाई समानतामा ल्याउने उल्लेख छ।

यस वर्ष आईफोन १५ प्रो म्याक्समा प्रस्तुत गरिएको टेट्राप्रिज्म लेन्सले फोनलाई मोटो नबनाइ लामो फोकल लेन्थको लागि अनुमति दिने उल्लेख छ। यसले लेन्स भित्र लाइट (प्रकाश) बाउन्स गरेर काम गर्ने र यसले प्रभावकारी रूपमा लेन्स र सेन्सर बीचको दूरी बढाउने उल्लेख गरिएको छ।

आईफोन १५ प्रो मा हाल ३ एक्स अप्टिकल जूम लेन्स रहेको र आईफोन १६ प्रो मा टेट्राप्रिज्म लेन्स थप्दा यसलाई प्रो म्याक्सको बराबरीमा ल्याउने जनाइएको छ। यसको अर्थ दुबै प्रो मोडलहरूले समान स्तरको अप्टिकल जूम क्षमता प्रदान गर्नेछ।

कुओको रिपोर्टले टेट्राप्रिज्म लेन्स किन यस वर्ष आईफोन १५ प्रो म्याक्समा मात्र उपलब्ध भयो भन्ने बारेमा केही प्रकाश पारेको छ। लेन्स निर्माण गर्न निकै जटिल रहेको र केवल लार्गनद्वारा उत्पादन गरिने भएको हुनाले आपूर्तिमा बाधा उत्पन्न गरिरहेको उल्लेख गरिएको छ।

यद्यपि, कुओले अर्को वर्षसम्ममा एप्पलले अर्को आपूर्तिकर्ता जीनियसलाई लेन्स उत्पादन गर्न अनुमति दिन सक्ने भविष्यवाणी पनि गरेका छन्। यसले उत्पादन चुनौतीहरू कम गर्न र एप्पललाई आईफोन १६ प्रो सहित थप आईफोन मोडलहरूमा टेट्राप्रिज्म लेन्स थप्न मद्दत गर्न सक्ने अपेक्षा गरिएको छ।

प्रकाशित: १० आश्विन २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार