यी हुन नेपाली बजारमा आउँदै गरेका चर्चित स्मार्टफोनहरु

Technology Khabar २४ फाल्गुन २०७४, बिहीबार

काठमाडौं ।

काठमाडौं, २४ फागुन । विगत केहि दिनदेखि सुस्ताएको मोबाइल बजार नयाँ फोनहरुको आगमनसँगै आफ्नो गतिमा आउने अनुमान गरिएको छ । केहि महिनादेखि नेपाली बजारमा कुनैपनि त्यस्ता चर्चित र नाम चलेका स्मार्टफोनहरु नआउँदा मोबाइल बजार नै सुस्तगतिमा चलिरहेको छ ।

अहिलेको सुस्त मोबाइल बजारलाई गति दिन अबको महिनामा लगातार केहि नयाँ र चर्चामा रहेका फोनहरु नेपाली बजारमा सार्वजनिक हुँदैछन् ।

सबैभन्दा धेरै चर्चामा रहेको सामसंगको फ्ल्यागशिप फोन ग्यालेक्सी एस नाइन र एस नाइन प्लस (Galaxy S9 and S9+) मार्च १२ तारिखमा सार्वजनिक हुँदैछ ।

श्वभर नै चर्चामा रहेको यो फोनले नेपाली बजारलाई पनि तरगिंत पार्ने अनुमान गरिएको छ । निकै ठूलो बजार हिस्सा ओगटेको सामसंगले सार्वजनिक गर्ने यी दुई फोनहरुको बिक्रीले बजारलाई केहि उत्साहित पार्ने अनुमान गरिएको छ ।

त्यसैगरि सामसंगको साथमा अन्य दुई ब्राण्डका फोनहरु पनि नेपाली बजारमा आउँदैछन् । जसमा नोकिया र सोनी जस्ता कम्पनीका चर्चामा रहेका फोनका मोडलहरु सार्वजनिक हुनेछन् ।

नोकियाले केहि दिनअघि स्पेनमा भएको मोबाइल वल्र्ड कंग्रेसमा सार्वजनिक गरेको फोनहरु नेपाली बजारमा भित्र्याउने तयारी गरेको छ ।

नोकियाले पनि अप्रिल महिनाभित्रमा दुई वटा मोडल सार्वजनिक गर्दैछ । जसमा नोकिया सेभेन प्लस (Nokia 7 Plus) र नोकिया ६ को २०१८ भर्सन (Nokia 6 (2018) हुनेछन । यी दुबै फोनहरुका साथमा नोकियाले स्पेनमा चारवटा फोनहरु सार्वजनिक गरेको थियो ।

नोकियाले यसअघि पनि सामान्यरुपमा नोकियाका फोनहरु बजारमा पठाएर बिक्री गरेको थियो भने यो पटक पनि बिना कुनै औपचारिक घोषणा फोन भित्र्याउने योजना लिएको छ ।

त्यस्तै अर्को फोन कम्पनी सोनीले पनि नेपाली बजारमा तीन नयाँ मोडल ल्याउने तयारी गरेको छ । सोनीले नेपाली मोबाइल फोन बजारमा धेरै ठूलो बजार हिस्सा नओगटेपनि यसका केहि फोनहरु विश्व बजारमा चर्चामा रहेका छन् । कम्पनीले नेपाली बजारमा सामान्य औचारिकताअनुसार मात्र फोनहरु सार्वजनिक गर्ने गरेको छ ।

सोनीले नेपाली बजारमा एक्सपेरिया एक्सए २ (Xperia XA 2), एक्सपेरिया एल २ (Xperia L 2) र एक्सपेरिया एक्सए २ अल्ट्रा (Xperia XA 2 Ultra) नामक तीन मोडलका स्मार्टफोनहरु सार्वजनिक गर्दैछ । यी फोनहरु पनि संभवत यहि मार्च र अप्रिल महिनाभित्र सार्वजनिक हुनेछन् ।

यी बाहेक अन्य मोबाइल फोन कम्पनीहरुले पनि स्मार्टफोनहरु भित्र्याउने तयारीमा रहेका छन जसले नेपाली नयाँ वर्षको अवसर पारेर आफ्नो बजार हिस्सा बढाउने प्रयास गर्नेछन् । जसले गर्दा हाल सुस्त रहेको मोबाइल बजारमा केहि गति आउने अपेक्षा गरिएको छ ।

मोबाइल बजारको केन्द्रको रुपमा रहेको पाको न्यूरोड क्षेत्रमा मोबाइल व्यवसाय गर्दै आएका एक व्यवसायीले अहिले बजार निकै सुस्त गतिमा रहेको बताए ।

‘न्यूरोड जस्तो सेन्टरको बजारमा त बिक्री छैन भने अन्य बजारमा झनै सेल्स कम छ, नयाँ फोनहरु सार्वजनिक भएपछि बजार बढ्ने अपेक्षा छ,’ नाम उल्लेख नगर्ने शर्तमा उनले भने ।

माथि उल्लेखित सबै मोबाइल फोनहरु फरक फरक मूल्य श्रेणीमा आउने हुँदा यसले मोबाइलको सबै किसिमको बजार सेगमेन्टलाई सकारात्मक असर पार्ने अनुमान गर्न सकिन्छ ।

प्रकाशित: २४ फाल्गुन २०७४, बिहीबार

तपाइको प्रतिक्रिया