चार्जिङ स्टेसनले लामो दूरीमा सहज

Technology Khabar २६ भाद्र २०८०, मंगलवार

चार्जिङ स्टेसनले लामो दूरीमा सहज
इभी चार्ज गर्दै सार्वजनिक यातायातका कर्मचारी। सांकेतिक। फाइल तस्वीर

काठमाडौं ।

मोरङको बेलबारी-३ का गोपीराज राई विराटनगर-काँकडभिट्टा रुटमा यात्रुबाहक सवारी सञ्चालन गर्छन्। गाडीको मालिक र बालकसमेत रहेका राई बिराटनगरको चार्जिङ स्टेसनमा चार्ज गरेर काँकडभिट्टासम्मको यात्रा गराउने विद्युतीय सवारी चलाउँछन्।

देशभर र कोशी प्रदेशका मुख्य मुख्य स्थानमा चार्जिङ स्टेसन निर्माण अन्तिम प्रक्रियामा पुगेपछि चार महिनाअगाडि राईले ४५ लाख मूल्यमा विद्युतीय यात्रुबाहक सवारी खरिद गरेका हुन्।

वातावरणमैत्री र आरामदायी सवारी भएका कारण यात्रुको आकर्षण पनि उस्तै छ। देशभरका ५१ स्थानमा विद्युतीय सवारीसाधन चार्जिङ स्टेसन गत बुधबारदेखि सञ्चालनमा आउँदा विराटनगर बसपार्कसहित कोशी प्रदेशका नौ स्थानमा यो सुविधा उपलब्ध छ।

बिराटनगर बसपार्कमा १४२ किलोबाट क्षमताको चार्जिङ स्टेसन छ जसमा एकसाथ तीन ओटा सवारीसाधन चार्ज गर्न सकिन्छ। एक पटक चार्ज गर्दा ४६५ रुपियाँ शुल्क बुझाउनु पर्ने राईले जानकारी दिए। यसरी सवारीको ब्याट्री (ब्याकअप) फुल चार्ज गर्दा तीन सय किलोमिटर दुरीसम्म थेग्ने दाबी छ।

विराटनगर बसपार्कबाट लामो तथा छोटो दुरीका लागि ४५० सवारी दैनिक छूटने गर्छन् तर विद्युतीय सवारीको सङ्ख्या भने दुई ओटा मात्रै रहेका छन्। केही समयपछि विराटनगर बसपार्कबाट छ ओटा विद्युतीय सवारी सञ्चालनमा आउने राईले जानकारी दिए।

विराटनगर बसपार्क सञ्चालन समितिका सहसचिव राजु धमलाले अहिले दुई ओटा सवारी परीक्षणका रूपमा छोटो दुरी गरिरहेको जानकारी दिए। विराटनगर काँकडभिट्टासम्मको दुरीमा विद्युतीय यात्रुबाहक सवारी सञ्चालन हुनका लागि माइक्रोभ्यान नभई बसको मोडल बढी प्रभावकारी हुने धमलाको भनाइ छ।

नेपाल विद्युत् प्राधिकरणले मुलुकभर सञ्चालनमा ल्याएका चार्जिङ स्टेसनहरू पूर्ण स्वचालित रहेका छन्। नेपाल विद्युत् प्राधिकरणको एनइए एप मोबाइलमा डाउनलोड गरेर भार्ज गर्ने र शुल्क बुझाउने सुविधा दिइएको छ। विराटनगरमा एक झापाको बिर्तामोडमा दुई, दमकमा दुई, सुनसरीको इटहरी र इनरुवामा एक/एक उदयपुरको बेलकामा दुई रहेका छन्।

विराटनगरको चार्जिङ स्टेसनमा एकसाथ तीन सवारी चार्ज हुने सुविधा छ। प्राधिकरणले पिक समय (साँझ ५ बजेदेखि राति ११ बजे) लाई प्रतियुनिट १० रुपियाँ ४४ पैसा र अफ पिक समय (राति ११ बजेदेखि बिहान ५ बजेसम्म छ रुपियाँ ०६ पैसा, बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म आठ रुपियाँ २८ पैसा चार्जिङ शुल्क तोकेको छ। गोरखापत्रबाट

प्रकाशित: २६ भाद्र २०८०, मंगलवार

तपाइको प्रतिक्रिया