मेइजूले स्मार्ट चश्मा ल्याउँदै, मुटुको गति र ब्लड अक्सिजन मोनिटर सेन्सर हुने

Technology Khabar १० भाद्र २०८०, आईतवार

काठमाडौं ।

चिनियाँ प्रविधि ब्रान्ड मेइजूले चाँडै नै यसको ग्याजेट पोर्टफोलियोमा नयाँ उपकरण थप्न तयार छ। यदि नवीनतम लीकहरू विश्वास गर्ने हो भने, मेइजुले चाँडै बजारमा विशेष स्मार्टग्लास ल्याउने छ। यो स्मार्ट ग्लास डिस्प्ले वा इन-बिल्ट स्पिकरले सुसज्जित हुनेछैन तर केही उन्नत सुविधाहरूले सुसज्जित हुनेछ।

रिपोर्टकाअनुसार कम्पनीले यस स्मार्ट गिलासमा केही स्वास्थ्य निगरानी सुविधाहरू उपलब्ध गराउन लागेको छ, जसमा मुटुको गति र एसपीओ२ (SpO2) सेन्सर समावेश हुनेछ। अहिलेसम्म तपाईले स्मार्टवाच, स्मार्ट ब्यान्ड वा स्मार्ट रिङमा मात्र यी स्वास्थ्य सुविधाहरू पाउनुहुन्थ्यो तर आगामी दिनमा यो टेक ग्लासमा पनि उपलब्ध हुने भएको छ।

गीज्मोचाइनाको पछिल्लो रिपोर्टमा सीएनएमओ प्रकाशनलाई उद्धृत गर्दै चिनियाँ कम्पनी मेइजूले स्मार्ट ग्लासको पेटेन्टको लागि आवेदन दिएको जानकारी दिइएको छ। यो स्मार्ट ग्लासले प्रयोगकर्ताहरूलाई स्मार्ट घडी वा ब्यान्ड जस्तै मुटुको गति र रक्त अक्सिजन स्तर (SpO2) मापन गर्न मद्दत गर्नेछ।

स्वास्थ्य सेन्सरहरू

रिपोर्टका अनुसार यस प्याटेन्ट कागजातबाट डिभाइसका धेरै कम्पोनेन्टको बारेमा जानकारी आएको छ। यो पहिरन योग्य उपकरणमा नोज प्याड, स्वास्थ्य निगरानी सेन्सर आदि समावेश हुने भनिएको छ। यस स्मार्ट ग्लासको सबैभन्दा ठूलो विशेषता यसको हेल्थ मोनिटरिङ फिचर हुनेछ, जसले तपाईको मुटुको दर र ब्लड अक्सिजन निगरानी गर्नेछ। यी सेन्सरहरू नाकको डाँडी अर्थात नोज बड्स नजिक राख्न सकिने बताइएको छ।

मेइजु कम्पनीले यस ग्लासलाई प्रत्यक्ष रूपमा पेटेन्ट गरेको छैन। यसका लागि नयाँ कम्पनीसँग हात मिलाएको छ। यस कम्पनीको नाम हुबेई जिङ्गजी मेइजू टेक्नोलोजी कम्पनी लिमिटेड हो, जुन सन् २०२१ मा सुरु भएको थियो। यी दुवै कम्पनीका अध्यक्ष एउटै हुन् ।

हुबेई जिङ्गजी मेइजू टेक्नोलोजी कम्पनी लिमिटेडले मोबाइल फोन, इलेक्ट्रोनिक्स उत्पादनहरू र स्याटेलाइट मोबाइल फोनहरू उत्पादन गर्दछ।

कम्पनी फोल्डेबल फोनमा पनि काम गर्दै

स्मार्ट चस्माका अलावा कम्पनीले फोल्ड गर्न मिल्ने फोनमा पनि काम गरिरहेको छ। केही समयअघि यो फोल्डेबल फोनको प्याटेन्ट पनि सार्वजनिक भएको थियो। फोल्डेबल फोनको डिजाइन उक्त प्याटेन्ट मार्फत देखिएको थियो। तर यो फोन कहिले आउँछ भन्ने यकिन छैन्।

प्रकाशित: १० भाद्र २०८०, आईतवार

तपाइको प्रतिक्रिया