
काठमाडौं ।
एप्पलले आईफोन १५ प्रो मोडलहरूमा फिजीकल बटनहरूलाई एक्शन बटनले प्रतिस्थापन गर्ने चर्चा रहेको छ। भर्खरै आईओएस१७ बीटामा फेला परेको नयाँ कोडले यी अफवाहहरूलाई थप पुष्टि गरेको छ।
९टु५म्याकको खोजहरूकाअनुसार आईओएस१७ बीटा ७ अपडेटमा अफवाहमा रहेको “एक्शन बटन” को लागि नयाँ ह्याप्टिक फिडब्याक प्याटर्नहरू समावेश रहेको उल्लेख गरिएको छ।
नयाँ ह्याप्टिक फिडब्याक प्याटर्नहरूले प्रयोगकर्ताले साइलेन्ट र नर्मल मोडहरू बीच स्विच गर्दा आईफोनलाई अझ सटिकरुपमा भाइब्रेट गराउने छ। यो विशेष गरी एक्शन बटन भएका नयाँ फोनहरूको लागि उपयोगी हुने भएकाले फोन कुन मोडमा छ भनेर जान्न सजिलो बनाउने उल्लेख गरिएको छ।
अझ महत्त्वपूर्ण कुरा के रहेको छ भने यी प्याटर्नहरू प्रयोगकर्ताले साइलेन्ट मोड सक्रिय गर्दा मात्र नभएर निष्क्रिय हुँदा पनि ट्रिगर हुने उल्लेख गरिएको छ। पहिलेको आईओएस संस्करणमा, आईफोनलाई साइलेन्ट मोडमा सेट गर्दा सर्ट (छोटो) ह्याप्टिक फिडब्याक मात्र भएको तर साइलेन्ट मोड बन्द गर्दा भने कुनै प्रतिक्रिया नभएको जनाइएको छ।
त्यसैगरी अर्को चाखलाग्दो कुरा के छ भने साइलेन्ट मोड डिसेबल गर्नको लागि ह्याप्टिक फिडब्याकलाई नक्कल गर्न ९टु५म्याक टोली सक्षम भएको छ। यद्यपि यो अवस्थित आईफोन मोडलहरूमा कार्यात्मक नभएको उल्लेख गरिएको छ। यो “सिङ्गल फर्म ट्याप” जस्तो लाग्ने तिनीहरूले उल्लेख गरेका छन्।
यसबाहेक, म्याकरुमर्सका अनुसार, म्यूट स्विचलाई प्रतिस्थापन गर्ने नयाँ बटनलाई साइलेन्ट मोड सक्षम वा असक्षम गर्ने, क्यामरा एप खोल्ने, फ्ल्यास लाइट अन गर्ने, फोकस मोड ट्रिगर गर्ने वा भ्वाइस मेमो रेकर्डिङ गर्ने जस्ता विभिन्न कार्यहरूमा पनि तोक्न सकिने उल्लेख छ। साथै प्रयोगकर्ताहरूले बटनलाई असाइन गर्नका लागि भनेर आफ्नै सिरी सर्टकटहरू पनि सिर्जना गर्न सक्ने जनाइएको छ।
नयाँ आईफोनहरूमा साइलेन्ट मोडको लागि कन्ट्रोल सेन्ट्रलमा नयाँ बटन हुने सम्भावना पनि रहेको बताईएको छ। एप्पलले फोन साइलेन्ट भएको देखाउनको लागि स्ट्याटस् बारमा एक सूचक पनि थप्न सक्ने छ।
प्रकाशित: ८ भाद्र २०८०, शुक्रबार