
काठमाडौं ।
नेपालमा अप्टिकल फाइबर (तार) मार्फत इन्टरनेट चलाउने प्रयोगकर्ता करिब १ करोड १६ लाख पुगेका छन्। नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको २०८० बैशाख मसान्तसम्मको तथ्यांकअनुसार तार मार्फत इन्टरनेट प्रयोग गर्नेको संख्या १ करोड १५ लाख ६९ हजार ४६ पुगेको छ।
नेपालमा इन्टरनेट सेवा प्रदायकमार्फत इन्टरनेट जडान गर्ने संख्या २६ लाख ४७ हजार ३७९ छ। दूरसञ्चार क्षेत्रको नियामक निकाय प्राधिकरणका अनुसार एउटा कनेक्सनबाट औसतमा ४.३७ ग्राहकले इन्टरनेट प्रयोग गर्छन।
कोभिड १९ को प्रकोपपछि घरबाटै अनलाइन शिक्षा र काम गर्नुपर्ने अवस्था सिर्जना भएकाले पनि फिक्स्ड इन्टरनेटको प्रयोग बढ्दो क्रममा देखिएको थियो। साथै इन्टरनेट सेवा प्रदायकहरुले ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दै आक्रामकरुपमा बजार विस्तार गर्दा पनि तारमार्फत इन्टरनेट प्रयोग गर्नेको संख्या निरन्तर बढी रहेको छ।
मोबाइल डाटाको तुलनामा तार इन्टरनेट तुलनात्मकरुपमा सस्तो हुनुका साथै वाईफाईमार्फत कम्प्युटर, ल्यापटप, मोबाइल डिभाइस र अन्य इन्टरनेट सपोर्ट गर्ने डिभाइसमा कनेक्ट गरेर परिवारका सबै सदस्यले चलाउन मिल्ने भएकाले पनि यसमा आकर्षण बढिरहेको देखिन्छ।
कम्पनीहरु बीचको तीव्र प्रतिस्पर्धा र सरकारले समेत देशैभर ब्रोडब्यान्ड इन्टरनेट जडान गर्ने परियोजना सञ्चालन गरेकाले पनि तार इन्टरनको पहुँच बढ्दै गएको छ।
इन्टरनेट सेवा प्रदाक मध्ये सबैभन्दा धेरै प्रयोगकर्ता वर्ल्डलिंक कम्युनिकेशनको रहेको छ। वर्ल्डलिंकले वायरलेस, केबल र फाइबर मार्फत आफ्ना सेवाग्राहीलाई सेवा दिँदै आएको
७ लाख ५२ हजार ५७३ घर तथा संघ संस्थानमा वर्ल्डलिंकको इन्टरनेट जडान गरिएको छ। २८.४३ प्रतिशत बजार हिस्सा ओगटेको वर्ल्डलिंकमार्फत इन्टरनेट प्रयोग गर्ने ३२ लाख ८८ हजार ७४४ जना छन्।
१२ लाख ६१ ह्जार २४३ ग्राहक सहित नेपाल टेलिकम दोस्रो स्थानमा रहेको छ। नेपाल टेलिकमले १०.८९ प्रतिशत बजार हिस्सा ओगटेको छ।
क्लासिक टेक, भायोनेट, सुविसु क्रमशः १०.२१ प्रतिशत, ९.९९ प्रतिशत र ९.६५ प्रतिशत बजार हिस्सा सहित तेस्रोदेखि पाँचौ स्थानमा छन्।
प्रकाशित: ६ भाद्र २०८०, बुधबार