
काठमाडौं ।
गोप्रो साहसिक उत्साही र फोटोग्राफरहरूबीच व्यापक रूपमा लोकप्रिय रहेको छ। अग्रणी एक्शन क्यामरा निर्माता यसको कम्प्याक्ट डिजाइन, ड्युराबिलिटी (स्थायित्व) र प्रभावशाली ईमेज स्टेबिलाइजेसन (छवि स्थिरीकरण) को लागि परिचित छ भने उक्त विषेशताहरुले यसलाई सबै ठाउँमा लैजानको लागि आदर्श उपकरण बनाउँछ।
ब्रान्डले गत वर्ष सेप्टेम्बरमा हिरो ११ सिरिजको घोषणा गरेको थियो। तसर्थ अब गत वर्षको हिरो ११ सिरिजले छिट्टै नै आफ्नो उत्तराधिकारीको रुपमा अर्को पुस्ताको गोप्रो हिरो १२ ब्ल्याक (भनिने) पाउने भएको छ।
यद्यपी आधिकारिकरुपमा लन्च हुनु अघि नै यस एक्शन क्यामराको विवरणहरू टिपस्टर रोलान्ड क्वान्डटको अनलाइन सौजन्यबाट बाहिर आएको गीज्मोचाइनामा उल्लेख गरिएको छ।
गोप्रो हिरो १२ ब्ल्याकका मुख्य विवरणहरू
आफ्नो पूर्ववर्तीको तुलनामा गोप्रो हिरो १२ ब्ल्याक साना कस्मेटिक परिवर्तनहरूका साथ आउने जनाइएको छ। गोप्रो हिरो १२ ब्ल्याकको आयाम र कम्प्याक्ट डिजाइन हिरो ११ ब्ल्याकको जस्तै समान रहेको उल्लेख छ।
दुई डिभाइसहरू बीचको एउटा उल्लेखनीय परिवर्तन भनेको आगामी गोप्रो हिरो १२ ब्ल्याकको बडी मटिरियल (सामग्री) मा प्लेन ब्ल्याकको सट्टामा सानो नीलो रङ्गको स्पेकलहरू हुनेछन्। साथै यस एक्सन क्यामराको पछाडि २.२७ इन्चको मुख्य डिस्प्ले र अगाडि १.४ इन्चको स्क्रिन कायमै राखेको रिपोर्टमा बताईएको छ।
रिपोर्टका अनुसार, गोप्रो हिरो १२ ब्ल्याकले आफ्नो पूर्ववर्तीको जस्तै २७ मेगापिक्सेल १/१.९–इन्च क्यामरा सेन्सर फिचर गर्नेछ। यसै बीच, भिडियो स्क्रिन ग्राब्स भने २४.७ मेगापिक्सेलमा सीमित हुनेछ। यसबाट प्रयोगकर्ताले ८ र १०–बिट सेटिङ्गमा सुटिङ्ग गर्न सक्ने उल्लेख गरिएको छ।
यस एक्सन क्यामराले एचडीआरको समर्थन सहित ६० फ्रेम पर सेकेण्ड (एफपीएस) मा ५.३ के सम्मको भिडियो रेकर्डिङ्गलाई समर्थन गर्नेछ। त्यसैगरी यस एक्सन क्यामरामा हाइपरस्मूथ ६.० स्टेबिलाइजेसन, होराइजन लक, हाइपरभ्यू, हाइपरस्मूथ अटोबूस्टका साथै थप अन्य फिचर्स प्याक गरिनेछ।
गोप्रो हिरो १२ ब्ल्याक १,७२० एमएएच एनडुरो ब्याट्रीद्वारा संचालित हुनेछ भने यसले आफ्नो पूर्ववर्तीको तुलनामा ६० फ्रेम पर सेकेण्ड (एफपीएस) मा ५.३ के सुट गर्दा ७० मिनेटसम्मको अलिकति लामो उपयोग प्रदान गर्ने दाबी गरिएको छ। त्यसका साथै एफएचडी भिडियोहरू सुटिङ्ग गर्दा ब्याट्री २.५ घण्टासम्म चल्ने उल्लेख गरिएको छ।
गोप्रो हिरो १२ ब्ल्याक आगामी सेप्टेम्बर १३ देखि खरीदको लागि उपलब्ध हुने संकेत गरिएको छ भने यसको मूल्य ४४९ यूरो रहने अनुमान गरिएको छ।
प्रकाशित: ५ भाद्र २०८०, मंगलवार