
काठमाडौं ।
टेक जायन्ट एप्पलले गत वर्ष आईफोन १४ सिरिज सार्वजनिक गरेको थियो। यस सिरिजको आईफोन १४ र आईफोन १४ प्लसलाई लाइटनिङ पोर्टको सट्टा अब यूएसबी टाइप-सीपोर्टका साथमा पुन: लन्च गर्न सक्ने संभावना रहेको छ।
एप्पलले अर्को महिना आफ्नो नयाँ आईफोन १५ सिरिज लन्च गर्ने सम्भावना छ।
टिपस्टर आरोनले एक्स (पहिलेको ट्विटर) मा एक पोस्टमा आईफोन १४ र आईफोन १४ प्लस यूएसबी टाइप-सी पोर्टको साथ पुन: लन्च गर्न सक्ने भनेर खुलासा गरेका छन्। ईयू र अमेरिकाको क्यालिफोर्नियाको नियमअनुसार एप्पलले आफ्ना स्मार्टफोनहरू अपडेट गर्न सक्छ।
कम्पनीको आगामी आईफोन १५ सिरिजमा यूएसबी टाइप-सी पोर्टहरू हुने निश्चित भईसकेको छ। गत वर्ष, एप्पलका मार्केटिङका वरिष्ठ कार्यकारी, ग्रेग जोसविकले आईफोनमा ईयू नियमहरू पालना गर्न यूएसबी टाइप-सी पोर्ट हुने भनेका थिए।
अब आईफोन १४ सिरिजलाई पनि सोही नियम पालना गर्ने उद्देश्यका साथ टाइप सी पोर्टसहित लन्च गरिने बताईएको हो। तर हालसम्म यस बारेमा अन्य ठोस जानकारीहरु छैन्।
यसैबीच कम्पनीले आईफोन १५ को उत्पादन चीनका साथसाथै भारतमा पनि सुरु गर्दैछ। ब्लूमबर्गको रिपोर्टकाअनुसार एप्पलले भारतमा बनेको आईफोनको भोल्युम छिटो बढाउने योजना बनाएको छ।
प्रकाशित: ४ भाद्र २०८०, सोमबार