
काठमाडौं ।
फेदीखोला गाउँपालिकाले प्रदेश सरकारको साझेदारीमा सिद्धार्थ राजमार्गको कुभिण्डेदेखि भालुपहाड खण्डमा सिसी क्यामरा जडान गरेको छ।
प्रदेश सरकारको साझेदारी कोष अन्तर्गत फेदीखोला गाउँपालिकाले पेस गरेको प्रविधिमैत्री सेवा प्रवाह तथा डिजिटलाइज फेदीखोला प्रस्ताव स्वीकुत्त भएसँगै सोलारसहितको सिसी क्यामरा जडान भएको हो।
प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको ७० प्रतिशत र पालिकाको ३० प्रतिशत लगानीमा सिद्धार्थं राजमार्गको फेदीखोला खण्डमा पर्ने १३ किमीमा २२ बटा सिसी क्यामरा जडान गरिएको हो।
कुभिण्डे, भालुपहाड र प्रहरो चौकी फेदीखोलामा जडान भएका सिसी क्यामराले सबारीसाधनको नम्बर प्लेट स्क्यान गरी पहिचान गर्नेछन्। तीन वटा सिसी क्यामरा ‘मोनिटर रुम’ मा बसेर जुम तथा रोटेड गर्न
मिल्ने र १६ ओटा कलर भ्यु क्यामरा जडान गरिएको हो।
पालिका अध्यक्ष घनश्याम सुवेदीले पालिकाभित्र शान्तिसुरक्षा तथा अपराध घटाउने उद्देश्यले सडकमा सोलार बत्तीसहितको सिसी क्यामरा जडान गरेको बताए। सिसी क्यामराको मोनिटर प्रहरी चौकी फेदीखोलाको
नेतृत्वमा रहेको र रेखदेख चौकीले नै गर्ने उनको भनाइ छ।
रातको समयमा दुर्घटना र अपराध बढी हुने भएकाले बत्तीसहितको सिसी क्यामरा प्रभावकारी हुने उनी बताउँछन्।
सुवेदीले जोखिम रहेको भालुपहाड र पालिकाभित्रका घटना जानकारी पाउन सहज भएको बताए। पालिका इन्जिनियर तारानाथ पौडेलले गत माघ २४ गते आरम्भ इनर्जी एन्ड इलेक्ट्रोनिक्स सातदोबाटो ललितपुरले एक करोड ४० लाख ३७ हजार २६० रुपियाँमा काम सकेको बताए।
कार्यक्रम अन्तर्गत गाउँपालिकाका पाँच ओटा वडा, छ ओटा स्वास्थ्य चौकी, आठ ओटा सामुदायिक माध्यमिक विद्यालयमा ४४ किलोमिटर अप्टिकल फाइबर बिस्तार गरी लोकल नेटवर्क विस्तार गरिएको पौडेलले बताए।
लोकल नेटवर्कको सर्भर पालिकामा रहेको र वडामा हुने चुहावटको निगरानी पालिकाबाटै भएको छ। गोरखापत्रबाट
प्रकाशित: २ भाद्र २०८०, शनिबार