आमउपभोक्ताले तत्काल फाइभजी उपयोग गर्न नपाउने

Technology Khabar २६ श्रावण २०८०, शुक्रबार

काठमाडौं ।

नेपालमा आमउपभोक्ताहरुले फाइभजी सेवा तत्काल उपयोग गर्न नपाउने देखिएको छ। सरकारी स्वामित्वको नेपाल टेलिकमले हाल फाइभजी सेवा परीक्षणको अनुमति प्राप्त गरेर आन्तरिक रुपमा परीक्षण गरिरहेको छ।

फाइभजी सेवाका उपलब्ध गराइएको फिक्वेन्सी व्यावसायीक उद्देश्यले भन्दा पनि परीक्षण प्रयोजनका लागि दिइएको नेपाल टेलिकमले जानकारी दिएको छ। यस्तोमा परीक्षण प्रयोजनका लागि उपलब्ध फिक्वेन्सीबाट तत्काल उपभोक्ताले उपयोग गर्नेगरी फाइभजी सञ्जाल गर्नेतर्फ नेपाल टेलिकम अग्रसर देखिएको छैन।

नियामक नेपाल दूरसञ्चार प्राधिकरणबाट नेपाल टेलिकमलाई २७०० मेगाहर्ज ब्याण्डमा ६० मेगाहर्ज फिक्वेन्सीमा फाइजी परीक्षणको अनुमति दिएको थियो।

प्राधिकरणले उपलब्ध गराएको फिक्वेन्सीमा नेपाल टेलिकमले करिब एक वर्षदेखि फाइभजी परीक्षण गरिरहेको छ। यसका लागि नेपाल टेलिकमले काठमाडौंको दुई स्थान सुन्धारा र बबरमहलमा तथा मधेश प्रदेशको वीरगन्ज र गण्डकी प्रदेशको पोखरामा फाइभजी उपकरण जडान गरेर परीक्षण गरिरहेको छ।

परीक्षणका प्रयोजनका लागि फिक्वेन्सी उपलब्ध गराएकाले तत्काल व्यावसायी प्रयोजनमा फाइभजी उपलब्ध हुने सम्भावना न्यून रहेको नेपाल टेलिकमका सहप्रवक्ता परमात्मा भट्टराईले जानकारी दिए।

‘उपभोक्ताले प्रयोग गर्ने गरी फाइभजी सुरु गर्न धेरै कुरा आवश्यक पर्छ। अहिलेको इकोसिस्टममा सस्टेन गर्न गाह्रो हुन्छ,’ भट्टराईले भने, ‘प्राधिकरणले उपलब्ध गराउने फिक्वेन्सी र बजारमा उपलब्ध ह्याण्डसेटको उपलब्धताले पनि यसमा फरक पार्छ।’

फोरजी विस्तारको क्रममा नेपाल टेलिकमको अनुभव साझा गर्दै उनले भने, ‘देशको भुगोल र धेरै क्षेत्र कभर गर्न सकिन्छ भनेर हामीले ८०० फिक्वेन्सी माग गरेका थियौं। सोही अनुसार ८०० फिक्वेन्सीमा योजना बनायौं। तर ८०० फिक्वेन्सीमा फोरजी सपोर्ट गर्ने ह्याण्डसेटको उपलब्धता कम हुँदा अन्य फिक्वेन्सीमा पनि फोरजी सञ्चालन गर्न बाध्य हुनु परेको थियो।’

यस्तोमा नियामक प्राधिकरणले गत असारमा नेपालमा मोबाइल सेवामा फ्रिक्वेन्सी प्रयोगको वर्तमान अवस्था र भावी योजना सम्बन्धी अवधारणा पत्र÷स्वेत पत्र जारी गर्दै फाइभजी परीक्षणका लागि उपलब्ध गराएको फ्रिक्वेन्सी फिर्ता गर्नुपर्ने समय सीमा तोकिसकेको छ।

अवधारणा पत्र÷स्वेत पत्र अनुसार फाइभजी परीक्षणका लागि नेपाल टेलिकमलाई उपलब्ध गराइएको २६०० मेगाहर्ज ब्याण्डमा ६० मेगाहर्ज फ्रिक्वेन्सीको समयसीमा आउँदो १ जनवरी २०२४ अर्थात २०८० पुस १८ गतेदेखि समाप्त हुँदैछ।

‘२६०० फिक्वेन्सी फाइभजी परीक्षणका लागि मात्र पाएका हौं। हाल उपलब्ध फिक्वेन्सी भोलिका दिनमा व्यावसायीक प्रयोजनका लागि उपलब्ध हुने वा नहुने टुंगो छैन। यस्तोमा फाइभजीमा हात हाल्न गाह्रो छ,’ भट्टराईले भने।

अहिलेको फिक्वेन्सी परीक्षणका लागि मात्र भएकाले हामीले सोही अनुरुप काम गरिरहेको उनको दाबी छ।

फाइभजी फिक्वेन्सी फिर्ता गर्नु अघि नै नेपाल टेलिकमले मुलुकको सातै प्रदेशमा फाइभजी परीक्षण सुरु गर्ने योजनामा काम गरिरहेको छ। यी स्थानमा फाइभजी सेवा परीक्षण गर्नका लागि नेपाल टेलिकम आवश्यक उपकरणको पर्खाइमा रहेको छ।

यस अघि नै नेपाल टेलिकमले फोरजी सेवा सुरु गर्न आवश्यक उपकरण खरिद सम्झौतामा आपूर्तिकर्तासँग फाइभजीका पनि उपकरणको सम्झौता गरिसकेको छ। यसका लागि चीनको सीसीएसआई र जेडटीईसँग खरिद सम्झौता गरेको छ। देशभर फोरजी सेवा बिस्तारका लागि टेण्डर गर्दा नै केहि सिमित शहरमा फाइभजी सेवा शुरु गर्नका लागि आवश्यक उपकरण उपलब्ध गराउने गरी टेलिकम र सीसीएसआई–जेडटीईबीच सम्झौता भएको थियो।

तर त्यसमा संसोधन गरेर सरकारले सातै प्रदेशका प्रमुख शहरमा फाइभजी सेवा परीक्षण गर्न टेलिकमलाई निर्देशन दिएको थियो।

उक्त सम्झौता बमोजिम सीसीएसआई–जेडटीईले नेपाल टेलिकमलाई फाइभजी उपकरण उपलब्ध गराएको छ। तीन प्रदेशका चार स्थानमा फाइभजी सेवा परीक्षण गर्न आवश्यक उपकरण जडान भएर आन्तरिक परीक्षण पनि सुरु भइसकेको आवस्था छ।

यस्तोमा बाँकी चार प्रदेशमा फाइभजी परीक्षण गर्नका लागि नेपाल टेलिकमले आवश्यक उपकरण आपूर्तिको स्वीकृति माग गर्दै प्राधिकरणमा निवेदन दिएको छ।

साथै अन्य प्रदेशको कुन स्थानबाट फाइभजी परीक्षण सेवा शुरु गर्ने भनेर पहिचान हुन बाँकी नै छ।

प्रकाशित: २६ श्रावण २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया