Technology Khabar १२ माघ २०७४, शुक्रबार
काठमाडौं ।
काठमाडौं, १२ माघ । नेपालको पहिलो पेमेन्ट गेटवे कम्पनी ‘इसेवा फोन पे प्रा.लि.’(Esewa Phone Pay Pvt. Ltd.) नवौँ वर्षमा प्रवेश गरेको छ । २००९ को अन्त्यमा बेटा भर्जन सार्वजनिक गरी २०१० जनवरी २५ बाट बिधिवत रूपमा सेवासुरु गरेको इसेवा नवौँ वर्षमा प्रवेश गरेको हो ।
मोबाईल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा हाल देशभर विस्तार भइसकेको छ । नौ वर्षको अवधिमा इसेवाबाट प्रत्यक्ष, अप्रत्यक्ष रुपमा ६० लाख बढिले सेवा लिइरहेका छन् । हाल इसेवाका देशभर ३० हजार भन्दा बढि एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेका कम्पनीले जानकारी दिएको छ ।
इसेवाको मोबाईल एप्स् प्रयोग गर्नेको संख्या ४ लाख ३० हजार नाघेको छ भने इसेवा खाता खोलेर कारोबार गर्नेको संख्या ७ लाख भन्दा बढि रहेको छ । यस्तै देशैभर रहेका जोन, पोइन्ट तथा मोबाईल बैंकिङ मार्फत ६० लाख बढिले इसेवाका सेवा लिइरहेका छन् ।
इसेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका दुई सय भन्दा बढि सेवाहरूमा शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ४४ वटा बैंक सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिने कम्पनीको भनाई छ ।
‘विश्वमा क्यासलेस ट्रान्जेक्सन बढिरहेका बेला नेपालमा पनि हामीले सेवा प्रदान गरिरहेका छौँ । मोबाईल वित्तिय सेवालाई नेपालका दुर्गम क्षेत्रसम्म पुर्याउने कार्यमा हाम्रो कम्पनी पायोनियर बन्न सकेकोमा हामी गौरवान्वित बनेका छौँ,’ कम्पनीका प्रेसिडेन्ट अस्गर अलीले भने ।
नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट वस्तीहरुमा इसेवाको उपस्थिती रहेको र विकट क्षेत्रहरुमा इसेवाले अझ सहजता ल्याएको अलीको भनाईछ ।
इसेवाले यसैवर्ष नेपाल राष्ट्रबैंकबाट भुक्तानी सेवा प्रदायकको इजाजत समेत प्राप्त गरेको छ ।
प्रकाशित: १२ माघ २०७४, शुक्रबार