Technology Khabar १९ श्रावण २०८०, शुक्रबार
काठमाडौं ।
जिल्ला प्रशासन कार्यालय सिन्धुलीले राष्ट्रिय परिचयपत्र वितरण सुरु गरेको छ। राष्ट्रिय परिचयपत्रका लागि तीन वर्षअघि जिल्ला प्रशासन कार्यालय सिन्धुलीमार्फत बिवरण भरेर आवेदन दिएकामध्ये परिचयपत्र बनेर आएका व्यक्तिलाई मङ्गलबारदेखि वितरण सुरु गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
राष्ट्रिय परिचयपत्र बितरण शाखाको प्रमुख मिथिला विष्टका अनुसार तीन वर्षअघि दुई हजार ६० जना पुरुष र एक हजार ८४६ महिला गरी तीन हजार २०६ जनाले आवेदन फाराम भरेका थिए। तीमध्ये हाल प्राप्त एक हजार १८१ परिचयपत्र वितरण सुरु भएको हो। यो तीन वर्षको अवधिमा ३४ हजार ५५६ जनाले परिचयपत्रका लागि आबेदन भरिसकेका छन्।
प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले केन्द्रबाट प्राप्त भएबमोजिन क्रमशः वितरण हुँदै जाने जानकारी दिईन्। परिचयपत्र भएपछि नागरिकता, मतदाता परिचयपत्रलगायतका कागजपत्र बोकिरहनु नपर्ने उनले बताईन्।
राष्ट्रिय परिचयपत्र पाएपछि गोलन्जोर गाउँपालिका-५ निवासी नवराज थापाले खुसी व्यक्त गर्दै भने, “२०७७ सालमा राष्ट्रिय परिचयपत्र बनाउन विवरणसहितको फाराम भरी सिडिओ कार्यालयमा बुझाएको थिएँ। लामो समयको प्रतीक्षापछि बल्ल हात लाग्यो।”
कार्यालयका अनुसार नागरिकता जस्तो सिफारिसकै आधारमा परिचयपत्र नबन्ने भएकाले सुरुमै जैविक परीक्षण गरेर विवरण फाराम सङ्कलन भइरहेको छ। गोरखापत्रबाट
प्रकाशित: १९ श्रावण २०८०, शुक्रबार