
काठमाडौं ।
नेपालमा बेस स्टेशन ( (बीटीएस) को आयात बढ्दो क्रममा देखिएको छ। भन्सार विभागको तथ्यांक अनुसार अघिल्लो आर्थिक वर्ष २०७८/७९ को तुलनामा गत आर्थिक वर्ष २०७९/८० मा बेस स्टेशनको आयात करिब एक हजार प्रतिशतले बढेको हो।
गत आर्थिक वर्षमा १२ करोड २३ लाख ९५ हजार बेस स्टेशन बराबरको बेस स्टेशन आयात भएको छ। अघिल्लो आर्थिक वर्षमा १ करोड ११ लाख ४८ हजार रुपैयाँ बराबरको बेस स्टेशन आएको थिए।
अघिल्लो आवको तुलनामा गत आवमा बेस स्टेशनको आयात ११ करोड १२ लाख ४७ हजार रुपैयाँ अर्थात ९९७.७२ प्रतिशतले बढेको छ।
अघिल्लो आवमा १९८ बेस स्टेशन आएकोमा गत आवमा १ हजार ३२६ भित्रिएको छ।
बेस स्टेशनको आयातबाट सरकारले २ करोड ३४ लाख रुपैयाँ सरकारले राजश्व प्राप्त गरेको छ।
अस्ट्रेलिया, चीन, जर्मनी, भारत, जापान, मलेसिया, सिंगपुर, स्पेन, ताइवान र यूएईगरी कुल १० मुलुकबाट बेस स्टेशन नेपाल भित्रिने गरेको भन्सार विभागको तथ्यांकमा देखिन्छ।
संख्याको आधारमा भारत र रकमको आधारमा चीनबाट सर्वाधिक बेस स्टेशन आयात भएको भन्सार विभागको तथ्यांकमा देखिन्छ।
चीनबाट ७ करोड ८७ लाख २९ हजार रुपैयाँ बराबरको ४८० बेस स्टेशन भित्रिएको छ।
भारतबाट ५ लाख १७ हजार रुपैयाँ बराबरको ७६४ बेस स्टेशन आएको छ।
सिगापुरबाट २ करोड ६६ लाख २२ हजार रुपैयाँ बराबरको ५५ बेस स्टेशन नेपाल आएको भन्सार विभागको तथ्यांकमा देखिन्छ।
के हो बेस स्टेशन?
बेस स्टेशनका नामले पनि चिनिने बीटीएसको पूरा रुप बेस ट्रान्सिभर स्टेशन हो। दूरसञ्चार क्षेत्रभित्रको मोबाइल सञ्चारमा बीटीएस टावरले तरंगहरु पठाउने र पाउने हिसाबले रेडियो ट्रान्सिभरहरुलाई बोक्ने गर्छन्। यिनै ट्रान्सिभरहरुले हावामा तरंगित रेडियो लिंक प्रोटोकललाई हाम्रा मोबाइलसम्म पुर्याएर मोबाइल मार्फत् हुने कुराकारी सफल हुन मद्दत गर्दछन्।
बीटीएस टावरलाई सामान्य भाषामा मोबाइल टावरका रुपमा चिनिन्छ। हामीले विभिन्न ठाउँमा अग्ला डाँडा वा भवनको छतमा देख्ने अधिकांश टावरहरु बीटीएस टावर नै हुन्।
किन आउँछन् बीटीएस उपकरण?
दूरसञ्चार क्षेत्रमध्येको मोबाइल सञ्चारको मुख्य मेरुदण्ड भनेको एक ठाउँबाट पठाइएको सन्देशलाई अर्को ठाउँमा रहेको मोबाइलसम्म पुर्याउने उकपकरण नै हुन्। यिनै उपकरणलाई अड्याउनका लागि निर्माण गरिने संरचना नै बीटीएस टावर हुन्।
यस हिसाबले नेपालमा पनि दूरसञ्चार सेवाको उपयोग गर्ने प्रवृत्ति बढिरहेको र देशभरका अधिकांश ठाउँका मानिसहरुले मोबाइल फोनको प्रयोग गरिरहँदा सेवा प्रदायकहरुले आफ्ना सेवा दुर्गम ठाउँहरुसम्म विस्तार गर्दै जानुपर्ने हुन्छ।
यसरी शहरमा मात्र केन्द्रित नभइ गाउँगाउँसम्म मोबाइल सिग्नल पुर्याउनका लागि मोबाइल सेवा प्रदायकहरुले यस्ता बीटीएस उपकरणहरु विश्वका विभिन्न देशहरुबाट आयात गर्ने गर्दछन्।
त्यसैगरी देशभर फोरजी सेवाको बिस्तारका लागि टेलिकम अपरेटरहरु सशक्त भएर लागिरहेको र साथै नेपाल टेलिकम फाइभजीको परीक्षण सेवा शुरु गर्ने योजनामा रहेकाले बीटीएस टावर लगायत मोबाइल प्रविधिसँग सम्बन्धित थुप्रै प्रकारका उपकरणहरु निरन्तर रुपमा आयात भइरहन सक्छन्।
प्रकाशित: १९ श्रावण २०८०, शुक्रबार