
काठमाडौं ।
राजधानी सहर काठमाडौँका सडकमाथिका दायाँबायाँ भागमा तारैतारले जेलिएको दृश्य जताततै देखिन्छ। जेलिएका तारमा विद्युत् सर्ट भई आगलागी हुने घटना बेलाबेलामा भइहेका हुन्छन् ।
यी तार व्यवस्थित गर्न प्रयास नभएका पनि होइनन् तर यसले सार्थक रूप लिन नसक्दा राजधानी सहर कुरूप भएको महानगरवासीको गुनासो छ । बिजुली, टेलिफोन, केबल नेटवर्क, इन्टरनेटलगायतका तार विद्युत्को पोलमाथिबाट लगिएको छ। यसरी जेलिएको तारलाई व्यवस्थित गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, विद्युत् प्राधिकरण, काठमाडौँ महानगरपालिकाजस्ता निकाय लागि परे पनि यसले सार्थक रूप लिन सकेको छैन।
महानगरपालिका–११ का वडाध्यक्ष हीरालाल तण्डुकार तार व्यवस्थापनका लागि पटकपटक प्रयास गरे पनि सफल हुन नसकेको स्वीकार गर्छन। पहिले मन्दिरै मन्दिरको सहरका नामले विश्वमा विख्यात भएको काठमाडौँ तारैतारले कुरूप भयो भनी प्रचार होला भन्ने चिन्ता लाग्न थालेको उहाँले सुनाए।
महानगरसभा र कार्यपालिकाको बैठकमा सदस्यले यसलाई व्यवस्थापनका लागि पटकपटक आवाज उठाउने गरेका छन् । तार व्यवस्थापनले सार्थक रूप भने पाउन सकेको छैन । प्राधिकरणले विद्युत् पोल भाडाको विषय बेलाबेलामा उठाउने गरेको छ ।
धेरै निकाय जोडिने तार व्यवस्थापनको काम समन्वयात्मकरूपमा अघि नबढाउँदा समस्या समाधानमा समय लागेको असन निवासी राजेन्द्र बज्राचार्य बताउँछन्। कार्यालय र पदाधिकारी विशेषले चाहेरमात्र समाधान नहुने समस्या भएकाले समन्वयात्मकरूपमा काम गरिनुपर्ने उनको भनाइ छ।
तार व्यवस्थापनको काम सुरु भएका स्थानमा राम्रो देखिन थाले पनि पूरा हुन सकेको छैन । काम पूरा नहुनुमा सरोकार भएका निकायका बीच समन्वय हुन नसक्नु मुख्य कारण रहेको जनाइएको छ। रासस
प्रकाशित: १७ श्रावण २०८०, बुधबार