आईफोन १५ प्रो र आईफोन १५ प्रो म्याक्स लन्च पश्चात आपूर्ति धेरै कम हुने

  • Technology Khabar | ६ श्रावण २०८०, शनिबार
आईफोन १५ प्रो र आईफोन १५ प्रो म्याक्स लन्च पश्चात आपूर्ति धेरै कम हुने

काठमाडौं ।

आगामी सेप्टेम्बरमा लन्च हुने अपेक्षा गरिएको आईफोन १५ प्रो र विशेष गरी आईफोन १५ प्रो म्याक्सको आपूर्ति धेरै कम हुने एउटा नयाँ रिपोर्टले उल्लेख गरेको छ। साथै उक्त नयाँ फोनहरुको आपूर्ति कम हुनुमा स्पष्टरूपमा एलजी डिस्प्लेमा स्क्रिन निर्माणको समस्यासँग सम्बन्धित रहेको छ।

बेजेलको आकार घटाउनको लागि प्रयोग भइरहेको नयाँ निर्माण प्रक्रियाले गर्दा उक्त समस्याहरू उत्पन्न भएको जीएसएमएरिनामा उल्लेख छ।

साथै अहिलेको यो समस्या पनि एप्पलले विगतमा केही एप्पल वाच मोडलहरूको लागि सामना गरेको समस्या सरह समान भएको बताइएको छ।

एलजीले आईफोन १५ प्रो (विशेष गरी प्रो म्याक्स) को लागि बनाएको डिस्प्लेहरू मेटल शेलमा डिस्प्लेलाई फ्युज्ड गरिने प्रक्रियाका द्वौरान रिलायबिलिटि टेस्ट (विश्वसनीयता परीक्षणहरू) मा असफल भइरहेको उल्लेख छ। एप्पलले हाल एलजीले बनाएको डिस्प्लेको डिजाइनलाई माथि उल्लेखित परीक्षणहरू पास गर्नका लागि काम गरिरहेको बताइएको छ। साथै एप्पलसँग सामसङ निर्मित डिस्प्लेहरू रहेको हुनाले कम्पनीले एसेम्बलीको लागि उक्त डिस्प्लेहरू पनि प्रयोग गर्न सक्नेछ।

यस समस्याहरूले आईफोन १५ प्रो र आईफोन १५ प्रो म्याक्स लन्च भएदेखि नै यिनीहरुको एकाइहरू धेरै उपलब्ध नहुनसक्ने समस्यालाई निम्त्याउने दाबी गरिएको छ। त्यसैगरी आईफोन १५ प्रोपछि आईफोन १५ प्रो म्याक्स प्राप्त गर्न सबैभन्दा गाह्रो हुने बताइएको छ।

यसैबीच यस्तो समस्या समाधान नभएको अवस्थामा एप्पलले नयाँ आईफोन लन्च गर्नमा केहि हप्ता ढिलाइ गर्ने अर्को एक छुट्टै रिपोर्टले दाबी गरेको बताइएको छ।

प्रकाशित: ६ श्रावण २०८०, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार