
काठमाडौं ।
मलेसियाले विशेष गरी दुर्गम क्षेत्रमा इन्टरनेट सेवा उपलब्ध गराउन इलन मस्कले सुरु गरेको स्याटेलाइट सञ्चार सेवा स्टारलिङ्कलाई इजाजतपत्र जारी गरेको मलेसियाका सञ्चारमन्त्रीले बिहीबार बताएका छन्।
मस्कको स्पेसएक्सद्वारा सञ्चालित स्टारलिङ्कले विद्यालय र उच्च शिक्षा संस्थाहरूमा सेवाहरू उपलब्ध गराएर सुरु गर्ने मन्त्री फहमी फडजिलले फेसबुक पोस्टमार्फत जानकारी दिएका हुन्।
सरकारले जनसंख्या भएको क्षेत्रमा १०० प्रतिशत इन्टरनेट कभरेज सुनिश्चित गर्न स्टारलिङ्कलगायत स्याटेलाइट सञ्चार फर्महरूसँग काम गर्न पनि तयार रहेको फहमीले बताए।
मलेसियाका करिब तीन प्रतिशत जनसंख्या भएको क्षेत्रले भौगोलिक र पूर्वाधारका चुनौतीका कारण इन्टरनेटको पहुँचमा समस्या भोगेको उनले बताए।
मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले मस्कसँग मलेसियामा आफ्ना कम्पनीहरूको लगानीबारे छलफल गर्नको लागि फोन गरेको एक हप्तापछि यो घोषणा आएको हो।
प्रकाशित: ६ श्रावण २०८०, शनिबार