ताजा समाचार

कृषि क्षेत्रमा प्रविधिको प्रयोग गर्न इजरायलसँग सहकार्य गर्न चाहेको सञ्चारमन्त्री शर्माको भनाई

कृषि क्षेत्रमा प्रविधिको प्रयोग गर्न इजरायलसँग सहकार्य गर्न चाहेको सञ्चारमन्त्री शर्माको भनाई
Global IME Bank

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासँग नेपालका लागि इजरायलका राजदूत हनान गोडार गोल्डबर्गरले शिष्टाचार भेट गरेका छन्।

मन्त्रालयमा आज भएको भेटमा सूचना प्रविधि र कृषि क्षेत्रको विकास लगायतका विविध विषयमा छलफल भएको सञ्चारमन्त्रीको सचिवालयले जनाएको छ।

नेपालले सूचना प्रविधिको विकास र प्रयोगलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै सरकारका प्रवक्ता शर्माले कृषि क्षेत्रमा प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने विषयमा इजरायलसँग सहकार्य गर्न चाहेको बताईन्।

पहिलेको तुलनामा सूचना प्रविधिका क्षेत्रमा नेपालले पनि उल्लेख्य विकास गरेको जानकारी दिँदै उनले सरकारले सूचना प्रविधि विकास र प्रयोगलाई प्राथमिकतामा राखेको बताईन्। सरकारको नीति तथा कार्यक्रममार्फत सञ्चार क्षेत्रको विकासलाई प्राथमिकता दिइएको उल्लेख गर्दै मन्त्री शर्माले डिजिटल अर्थतन्त्रको विकासका लागि सूचना प्रविधिको विकास सरकारको प्राथमिकतामा रहेको प्रष्ट पारिन्।

उनले भनिन्, “देशभरि सूचना सञ्चारको पहुँच विस्तार तीव्र गतिमा भइरहेको छ, त्यसमा प्रधानमन्त्रीको उच्च प्राथमिकता रहेको छ।”

इन्टरनेट र फोरजी सेवा देशभरि पुर्याउने काम अन्तिम चरणमा पुगेको बताउँदै मन्त्री शर्माले फाइभजी सेवा पनि परीक्षणका क्रममा रहेको बताईन्।

नेपालले आफ्नै स्याटेलाइट राख्ने सवाललाई पनि प्रथामिकतामा राखेको उल्लेख गर्दै उनले गुणस्तरीय स्याटेलाइट राखेर सूचना प्रविधिको विकासलाई नयाँ आयाम दिने सरकारको तयारी रहेको जानकारी दिईन्।

राजदूत गोडार गोल्डबर्गरले पछिल्लो समय सूचना प्रविधिलगायत सबै क्षेत्रमा नेपालले तीव्र विकास गरिरहेको बताए। सूचना र सञ्चारका क्षेत्रमा प्रभावकारी सेवा भएन भने अबका दिनमा विश्व समुदायमा प्रतिस्पर्धा गर्न कठिन हुने भएकाले पनि विश्वले त्यस क्षेत्रमा चाँडोचाँडो विकास गरिहेको उनको भनाइ थियो।

Sajilo Visa
easy care