नेपाल दूरसञ्चार प्राधिकरणले साना सेवा प्रदायकलाई टेक ओभर गर्दैनः अध्यक्ष पुरुषोत्तम खनाल

  • Technology Khabar | २७ असार २०८०, बुधबार
नेपाल दूरसञ्चार प्राधिकरणले साना सेवा प्रदायकलाई टेक ओभर गर्दैनः अध्यक्ष पुरुषोत्तम खनाल

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले साना सेवा प्रदायकलाई टेक ओभर (अधिन) नगर्ने बताएका छन्। भक्तपुरमा सोमबार आयोजित पत्रकारहरुलाई तालिम दिने एक कार्यक्रममा अध्यक्ष खनालले साना र कम सेवाग्रही भएका सेवा प्रदायकलाई अधिनमा नलिने बताएका हुन्।

लाइसेन्स खारेजीमा परेका दूरसञ्चार सेवा प्रदायकलाई अधिनमा लिनका लागि प्राधिकरणले अनुमतिपत्र बहाल नरहेका दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली, २०७९ ल्याएको छ।

सो नियमावलीको प्रावधान रहेर प्राधिकरणले लाइसेन्स खारेजीमा परेको स्मार्ट टेलिकमलाई अधिनमा लिएर आफै व्यवस्थापन गर्दै आइरहेको छ।

प्राधिकरणले स्मार्ट टेलिकमलाई अधिनमा लिएपछि केही इन्टरनेट सेवा प्रदायकहरुको लाइसेन्स खारेजीमा परेका छन्।

सम्पत्ति व्यवस्थापन नियमावलीको प्रावधान अनुरुप इन्टरनेट सेवा प्रदायकलाई किन अधिनमा नलिएको भन्ने पत्रकारहरुको प्रश्नको जवाफ दिँदै, अध्यक्ष खनालले भने, ‘व्यक्ति डुबेका कारण टेलिकम्प्युनिकेसन क्षेत्र नै डुब्नुपर्छ भन्ने हैन। यस्तोमा अर्को कुनै मोबाइल अपरेटर डुब्ला यस्तो अवस्थामा टेलिकम्युनिकेसन सर्भिस नै बन्द गर्नुपर्छ भन्ने हैन। यस्तो अवस्थालाई ऐनले केही सम्बोधन गरेको छ। यसलाई थप व्यवस्थित गर्न नियमावली ल्याइएको हो।’

चालु अवस्थामा रहेको सेवा प्रदायकको लाइसेन्स बिचैमा खारेज भएको अवस्थामा अधिनमा लिनका लागि नियमावली ल्याइएको हो। स्मार्टलाई मात्र टेकओभर गर्नका लागि नियमावली नल्याइएको उनको स्पष्टोक्ति छ।

‘धेरै सेवाग्राही प्रभावित भएको सेवा प्रदायकलाई अधिनमा लिने हो। ३०, ४० जनालाई सेवा दिएको छ र अर्को विकल्प भएको अवस्थामा त्यस्तो सेवा प्रदायकलाई अधिनमा लिनु पर्छ भन्ने छैन,’ खनालले भने, ‘नियमावलीमा गर्न सक्ने भन्ने प्रावधान छ त्यो भनेको नसक्ने पनि हो।’

हाल ल्याइएको सम्पत्ति व्यवस्थापन नियमावली पूर्णरुपको नभएको उनले जानकारी दिए। नियमावली परीक्षणकै क्रममा भएको यो नयाँ अभ्यास भएको उनको दाबी छ।

प्रकाशित: २७ असार २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...