एक वर्षमा ६३ लाख मोबाइल सेवाका प्रयोगकर्ता घटे, कुन मोबाइल अपरेटरले कति गुमायो? यस्तो छ तथ्यांक

  • Technology Khabar | २३ असार २०८०, शनिबार
एक वर्षमा ६३ लाख मोबाइल सेवाका प्रयोगकर्ता घटे, कुन मोबाइल अपरेटरले कति गुमायो? यस्तो छ तथ्यांक

काठमाडौं ।

नेपालमा मोबाइल प्रयोगकर्ता घट्दो क्रममा देखिएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको २०७९ चैतको एमआईएस रिपोर्टमा मोबाइल प्रयोगकर्ता घटेको देखिएको हो।

एक वर्षको अवधिमा ६३ लाख ३५ हजार ४२० मोबाइल प्रयोगकर्ता घटेका छन्।

२०७९ बैशाखमा ४ करोड २० लाख ८८ हजार ९६२ मोबाइल सेवाका प्रयोगकर्ता रहेकोमा चैत महिनामा ३ करोड ५७ लाख ५३ हजार ५४२ मा झरेको छ।

तथ्यांकअनुसार एक वर्षको अवधिमा सबैभन्दा धेरै ग्राहक एनसेलले गुमाएको छ। उक्त अवधिमा एनसेलको ३३ लाख ५२ हजार १०७ मोबाइल प्रयोगकर्ता घटेको देखिन्छ।

चैतमा एनसेलको १ करोड ३४ लाख ७९ हजार २८८ छन्। बैशाखमा १ करोड ६८ लाख ३१ हजार ३९५ ग्राहक थिए। जसअनुसार ३३ लाख ५२ हजार १०७ ग्राहक घटेका हुन्।

यसैगरी चैतसम्म नेपाल टेलिमकका मोबाइल प्रयोगकर्ता १ करोड ९८ लाख ५२ हजार २३५ जना छन्। २०७९ बैशाखमा २ करोड २८ लाख ८१ हजार ७० थिए। एक वर्षको अवधिमा नेपाल टेलिकमले ३० लाख २८ हजार ८३५ मोबाइल प्रयोगकर्ता गुमाएको छ।

एक वर्षको अवधिमा दुई ठूला सेवा प्रदायकले ग्राहक गुमाउँदा स्मार्ट टेलिकमको भने सानो संख्यामा भने पनि प्रयोगकर्ता बढेको एमआईएस रिपोर्टमा देखिन्छ।

सार्वजनिक एमआईएस रिपोर्टअनुसार २०७९ बैशाखमा स्मार्ट टेलिकमको प्रयोगकर्ता २३ लाख ७३ हजार ५११ रहेकोमा चैतमा २४ लाख १९ हजार ३३ पुगेको छ। एक वर्षको अवधिमा कम्पनीको प्रयोगकर्ता ४५ हजार ५२२ ले बढेको छ।

तर हाल स्मार्ट टेलिकमको अनुमति पत्र स्वतः रद्द भईसकेको छ र कम्पनीको सेवा बन्द छ। नेपाल दूरसञ्चार प्राधिकरणले उक्त कम्पनीलाई हाल अधिनमा लिएको छ।

अन्य सेवा प्रदायकको मोबाइल प्रयोगकर्ता संख्यामा कुनै परिवर्तन नभएको एमआईएस रिपोर्टमा देखिन्छ। २०७९ बैशाख र २०७९ चैतमा समान २ हजार ९८६ प्रयोगकर्ता छन्।

लामो समयसम्म प्रयोग नभएका सिमकार्ड दूरसञ्चार सेवा प्रदायकले निष्क्रिय बनाउन सक्ने व्यवस्था छ। त्यसैले सेवा प्रदायकले लामो समय प्रयोगविहीन रहेका मोबाइल सिमकार्डहरु निष्क्रिय गर्दा तथ्यांकमा प्रयोगकर्ताको संख्या घटेको अनुमान गर्न सकिन्छ।

प्रकाशित: २३ असार २०८०, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार