एनसेलले ६ महिनाभित्र गण्डकीको ९२ प्रतिशत जनसंख्या माझ फोरजी सेवा पुर्याउने

  • Technology Khabar | २२ असार २०८०, शुक्रबार
एनसेलले ६ महिनाभित्र गण्डकीको ९२ प्रतिशत जनसंख्या माझ फोरजी सेवा पुर्याउने

काठमाडौं ।

निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेल आजियाटा लिमिटेडले सन् २०२३ भित्रै गण्डकी प्रदेशमा आफ्नो आधुनिक फोरजी सेवाको पहुँच ९२ प्रतिशत जनसंख्या माझ पुर्याउने योजना रहेको जनाएको छ।

एनसेलले पोखरामा ६ वर्ष अघि फोरजी सेवा शुरु गरेको थियो। जनसंख्यामा यो सेवाको पहुँचको आधारमा २०२० सम्ममा प्रदेशका ४४ प्रतिशत जनसंख्या माझ सेवा विस्तार गरिएको जनाएको छ। कम्पनीले आफ्नो सेवा विस्तारका लागि थप १६ टावरहरु जडान गर्नेसमेत जानकारी दिएको छ।

शुक्रबार पोखरामा आयोजना गरिएको गण्डकी प्रदेशमा दूरसञ्चार सेवाको वर्तमान अवस्था र गुणस्तरका विषयमा सेवा प्रदायक र सरोकारवालाहरुको अन्तरक्रिया कार्यक्रममा बोल्दै एनसेलका चिफ इन्फर्मेसन अफिसर विशाल मणि उपाध्यायले कम्पनी सेवा बिस्तार र गुणस्तर सुधारमा प्रतिवद्ध रहेको र टावर निर्माण जस्ता कार्यहरुमा सहजिकरण गरिनु आवश्यक रहेको बताए ।

“२०२३ भित्र गण्डकी प्रदेशमा फोरजी ९२ प्रतिशत जनसंख्या माझ पुर्याउने छौं। अन्नपुर्ण आधार शिविर क्षेत्र, लेक साइड लगायतका स्थानहरुमा सेवा विस्तारका लागि नयाँ टावरहरु जडान गर्न ढिला भईरहेको र त्यसका लागि सरोकारवालाहरुबीच सहजिकरण चाहिएको छ।”

उपाध्यायकाअनुसार २०२२ सम्म गण्डकीमा एनसेलको ४९० टावरहरु रहेका थिए र २०२३ को अन्त्य सम्ममा यो संख्या ५०६ पुग्ने छ। “गण्डकी प्रदेशको योगदान भ्वाइस सेवामा ९.५ प्रतिशत र डाटामा १० प्रतिशत रहेको छ,” उनले भने।

एनसेलको कुल ग्राहक संख्यामा गण्डकी प्रदेशको योगदान १० प्रतिशत रहेको छ।

उनका अनुसार, सीएसआर अन्तर्गत एनसेलले गण्डकी प्रदेशमा ५ ओटा स्कुलमा आधुनिक आइटी ल्याब स्थापना गरको छ। त्यसैगरी एडप्ट अ स्कुल प्रोजेक्ट संचालन गरि विभिन्न ६ ओटा स्कुलहरुमा कक्षा कोठा निर्माण, ट्वाईलेट, खानेपानी, शैक्षिक सामाग्रीहरु लगायत सहयोग प्रदान गरेको थियो र बागलुङ्गको एक स्कुलमा पनि डिजिटल लाईबेरी स्थापना गरेको छ।

अन्तरक्रिया कार्यक्रममा गण्डकी प्रदेश सरकारका मुख्यमन्त्रि सुरेन्द्रराज पाण्डे, नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाललगायत महानुभावहरुको उपस्थिती रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा प्रदान गर्न पर्नेमा जोड दिए।

प्रकाशित: २२ असार २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...