दूरसञ्चार सेवा गुणस्तरीय र भरपर्दो बनाउन आवश्यक: गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डे

  • Technology Khabar | २२ असार २०८०, शुक्रबार
दूरसञ्चार सेवा गुणस्तरीय र भरपर्दो बनाउन आवश्यक: गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डे

काठमाडौं ।

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सूचना प्रविधिले संसार साँघुरो बनाएको अवस्थामा नेपाल दूरसञ्चार प्राधिकरणले पनि सेवाग्राहीलाई गुणस्तरीय सेवा प्रदान गर्नुपर्नेमा जोड दिएका छन्।

नेपाल दूरसञ्चार प्राधिकरणद्वारा पोखरामा आज आयोजित गण्डकी प्रदेशमा दूरसञ्चार सेवाको वर्तमान अवस्था र गुणस्तरीयतामा सेवा प्रदायक तथा सरोकारवालासँग आयोजित अन्तक्रिया कार्यक्रममा उनले अहिले सहजै टेलिफोन प्राप्त गर्न सकिने अवस्था आएको बताए।

मुख्यमन्त्री पाण्डेले भने, “दूरसञ्चार प्राधिकरणले आफूलाई विश्वको प्रविधिसँग प्रतिस्पर्धी बनाउन सक्नुपर्छ।”

सूचना प्रविधिसम्बन्धी निजी क्षेत्रबाट सञ्चालित कम्पनीले द्रूतगतिमा फड्को मारेको अवस्थामा अर्धसरकारी निकाय नेपाल टेलिकमले पनि आफ्नो सेवा गुणस्तरीय र भरपर्दो बनाउन आवश्यक रहेको भनाइ उनको छ।

“हिमाली र उच्च पहाडी क्षेत्रमा पनि दूरसञ्चार प्राधिकरणको बलियो उपस्थिति हुनुपर्ने देखिएको छ”, मुख्यमन्त्री पाण्डेले भने, “अझै पनि दुर्गम क्षेत्रमा दूरसञ्चार क्षेत्रले आफ्नो प्रभावकारी उपस्थिति देखाउन सकेको छैन।”

कम नाफा लिएर भए पनि आम सेवाग्राहीलाई सहुलियत दरमा इन्टरनेट र टेलिफोन सेवा उपलब्ध गराउनुपर्नेमा उनले सुझाव दिए। प्रविधिको विकाससँगै सामाजिक सञ्जालको दुरुपयोग भएको गुनासोसमेत उनले राखेका थिए।

गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा कृष्ण देवकोटाले दूरसञ्चार प्राधिकरणले सेवाको गुणस्तरलाई ध्यान दिनुपर्नेमा जोड दिए।

“हरेक व्यक्तिसँग जोडिएको यो सेवालाई प्रभावकारी र सवल बनाउन सकेनौँ भने हामी पछि पर्छौँ,” डा देवकोटाले भने।

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम प्रसाद खनालले गुणस्तरीय सेवाका लागि सबैको चासो भएकाले त्यसतर्फ हाम्रो ध्यान जाने विश्वास दिलाए। नियमित विद्युत् सेवा प्राप्त हुनसकेन भने यो सेवा प्रभावकारी बन्न नसक्ने भएकाले विद्युत् प्राधिकरणको सहयोग पनि आवश्यक रहने भनाइ उनको छ। मध्यपहाडी लोकमार्गलाई आधार बनाएर अप्टिकल फाइबर सञ्चालनको तयारी पनि दूरसञ्चार प्राधिकरणले सुरु गरेको जानकारी अध्यक्ष खनालले दिए।

कार्यक्रममा प्राधिकरणका निर्देशक अर्जुन घिमिरेले दूरसञ्चार क्षेत्रमा देखापरेको समस्या, वास्तविकताका बारेमा प्रकाश पार्दै कार्यपत्र प्रस्तुत गरेका थिए।

यसैगरी इन्टरनेट सेवा प्रदायक संघ नेपाल आईस्पानका सीईओ सुवाष खड्काले सेवाको गुणस्तरीयता उपलब्धता र इन्टरनेटमा लाग्दै आएको चर्को करको बारेमा कार्यपत्रसहित भनाई राखेका थिए।

प्रकाशित: २२ असार २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार