तीन सातादेखि फक्ताङलुङमा मोबाइल सेवा अवरुद्ध

  • Technology Khabar | २२ असार २०८०, शुक्रबार
तीन सातादेखि फक्ताङलुङमा मोबाइल सेवा अवरुद्ध
म्याग्दीमा रहेको नेपाल टेलिकमको मोबाइल टावर। फाइल तस्बिर

काठमाडौं ।

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ मा तीन सातादेखि मोबाइल सेवा अवरुद्ध हुँदा सञ्चारसेवा प्रभावित भएको छ। गाउँपालिका केन्द्र तापेथोक, साघु, फेम्बु, लेलेप हेल्लोकलगायत क्षेत्रमा सञ्चारसेवा अवरुद्ध भएको हो।

मोबाइल सेवा बन्द हुँदा सूचना आदन–प्रदान ठप्प भएको स्थानीय रोशन लिम्बूले बताए। “अहिले बाढीपहिरोको गइरहेको छ, यस्तो अवस्थामा नेटवर्क नहुँदा सञ्चार सेवा नचल्दा समस्या भएको छ”, उनले भने।

उनका अनुसार गाउँमा सञ्चार सेवा अवरुद्ध भएको तीन साता भइसकेको छ। “साँझ बिहान पानी परिहेको छ । बाढी पहिराले कहाँ, कति क्षति गर्यो, कहाँ–कहाँ जोखिम बस्ती रहेको छ भन्ने विषयमा सूचना समेत पाउन नसकेको अवस्था छ”, उनले भने।

फक्ताङलुङ गाउँपालिकामा बाहेक अन्यत्रका टावर भने सञ्चालनमै रहेको नेपाल दूरसञ्चार कार्यालय ताप्लेजुङका सूचना अधिकारी सुदीपकुमार महतोले बताए।

“ताप्लेजुङका टावर सबै राम्रो अवस्थामा छन्। फक्ताङलुङको मुरिङलामा रहेको टावरमा मात्रै समस्या देखिएको हो, टावरमा देखिएको समस्या समाधानका इलाम कार्यालयबाट प्राविधिक टोली आउनुपर्ने हुन्छ”, उनले भने। उनकाअनुसार पाँचथरको हेवाखोलामा पुल निर्माण भएपछि इलामबाट प्राविधिक आउने जानकारी प्राप्त भएको छ।

पाँचथरको हेवाखोलामा रहेको मोटरेबल पुल तीन साताअघि बाढीपहिराले बगाएसँगै मेची राजर्माग अवरुद्ध छ। गत असार ३ गते राति वर्षासँगै गएको बाढीपहिराले मेची राजमार्ग अवरुद्ध भएको थियो । जसका कारण ताप्लेजुङसँग अन्य जिल्लाको सडक सञ्जाल विच्छेद भएको छ।

प्रकाशित: २२ असार २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार