
काठमाडौं ।
सामसङले एक महिना अघि जुलाईको अन्तिम हप्तामा पहिलो पटक दक्षिण कोरियामा ग्यालेक्सी अनप्याक्ड कार्यक्रम आयोजना गर्ने घोषणा गरेको थियो। उक्त अनप्याक्ड कार्यक्रम जुलाई २६ मा हुने अनुमान गरिएको थियो।
बिहिबार टेक जायन्ट सामसङले आधिकारिकरूपमा उक्त मितिको पुष्टि गरेको छ भने अब सो अफवाह पनि सही साबित भएको छ।
दक्षिण कोरियाको सियोलमा आयोजना गरिने ग्यालेक्सी अनप्याक्ड जुलाई २६ तारिखमा स्थानीय समयअनुसार बिहानको ११ बजे सुरु हुनेछ भने सामसङको आधिकारिक वेबसाइट र युट्युब च्यानलमा पनि प्रत्यक्ष प्रसारण गरिने छ।
यद्यपी सामसङले उक्त ग्यालेक्सी अनप्याक्डमा कतिओटा उत्पादनहरू अनावरण गर्नेछ भन्ने बारेमा केहि खुलासा नगरेको तर सामसङले साझा गरेको प्रेस नोटमा “अ न्यू कल्चरल ड्राइभ इज कमिङ्ग” र “जोइन द फ्लिप साइड” भनिएको छ। साथै ग्राफिक सहितको सो प्रेस नोटमा सामसङ ग्यालेक्सी फ्लिप ५ पनि रहेको गिज्मोचाइनाले रिपोर्ट गरेको छ।
उक्त ग्यालेक्सी अनप्याक्ड कार्यक्रममार्फत फ्लिप ५ लाई आधिकारिक रूपमा प्रस्तुत गरिने छ। साथै जुलाई २६ मा आयोजना हुने अनप्याक्ड कार्यक्रममा कोरियाली समूहले अझै टिज गर्न बाँकि नै रहेको सामसङ ग्यालेक्सी जेड फोल्ड ५ पनि आइपुग्ने आशा गरिएको छ।
यस बाहेक ग्यालेक्सी ट्याबको नयाँ सिरिज पनि सो इभेन्टमा घोषणा गर्न सक्ने अनुमान गरिएको छ।
साथै ग्यालेक्सी जेड फोल्ड ५ लाई आगामी दिनहरूमा सामसङले प्रतिज्ञा गरेको टिजर र ट्रेलरहरूमा देख्ने सम्भावना रहेको छ।
प्रकाशित: २२ असार २०८०, शुक्रबार