
काठमाडौं ।
मोबाइल एप्लिकेसन बाटो म्याप्सले पछिल्लो अपडेटमा थुप्रै नयाँ फिचरहरु थप गरेको । नेपाली व्यवसाय तथा अन्य प्रयोगकर्ताहरुको लागि स्थानीय नक्साको सेवा प्रदान गर्नको लागि नेपाली युवाहरुले विकास गरेको बाटो म्याप्सका नयाँ फिचरहरु नेपालमै पहिलो हो।
प्रयोगकर्ता आफू रहेको स्थान देखाउने मात्र नभई, बाटो म्याप्सले आफूले चाहेको स्थानसम्मको दिशा देखाउन सो स्थान वरिपरि रहेका विभिन्न ल्याण्डमार्कहरुको पनि प्रयोग गर्छ। यस एपमा अफलाइन फिचर पनि रहेका कारण नेपालीहरुका लागि यो एप्लिकेसन उपयोगी हुने कम्पनीको कम्पनीको विश्वास छ।
बाटोको पछिल्लो अपडेटमा अब प्रयोगकर्ताहरुले सार्वजनिक यातायातका रुटहरु पनि हेर्न सक्छन्। तर यो फिचर अहिलेको लागि काठमाडौँमा मात्र उपलब्ध हुनेछ। सार्वजनिक यातायातका रुटहरुको बारेमा पर्याप्त मात्रामा डिजिटाइज्ड डाटा सजिलै उपलब्ध नभएको कारण अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्डहरुले यो फिचर आफ्ना एपहरुमा उपलब्ध गराउन सकेका छैनन्। यद्यपि, बाटो म्याप्सको टिमले विभिन्न स्रोतहरूमार्फत सार्वजनिक यातायातका रुटहरुको डाटा संकलन गरी, यो फिचर थप्न सफल भएको हो।
सार्वजनिक यातायातका रुटहरुको जानकारी आम मानिसहरुका लागि उपयोगी हुने गर्दछ। विशेष गरी कुनै नयाँ ठाउँमा जाँदा त्यहाँको सार्वजनिक यातायातका साधनहरु कुन रुट भएर चल्छन् भन्ने कुरा जानकारी नहुँदा हामी निकै अप्ठेरो स्थितिमा पर्छौँ। यसै अप्ठेरो स्थितिको समाधान गर्नको लागि बाटो म्याप्सले यो नयाँ फिचर ल्याएको हो।
यो नयाँ फिचर स्थानीय नेपालीका लागि मात्र नभएर सार्वजनिक यातायात प्रयोग गर्न रुचाउने पर्यटकहरुका लागि पनि निकै उपयोगी हुन्छ। काठमाडौँ शहरका जीवन्त पक्षहरुको बारेमा खोजी गर्न चाहने पर्यटकहरुले बाटो म्याप्सको यो फिचर प्रयोग गरी फाइदा उठाउन सक्छन्।
प्रयोगकर्ताहरुले के कुरा ध्यानमा राख्नुपर्नेछ भने बाटो म्याप्सको यो नयाँ फिचर हालको लागि प्रयोगात्मक मात्र भएको कारण कुनै कुनै अवस्थामा गलत सूचना दिनसक्ने सम्भावना हुनसक्छ। एपले गलत सूचना प्रदान गरेको अवस्थामा एपमै रिपोर्ट गरिदिन कम्पनीले प्रयोगकर्ताहरुलाई अनुरोध गरेको छ।
प्रकाशित: २१ असार २०८०, बिहीबार