सूचना प्रणाली चुस्त दुरुस्त राख्न सुझाव

  • Technology Khabar | १८ असार २०८०, सोमबार
सूचना प्रणाली चुस्त दुरुस्त राख्न सुझाव

काठमाडौं ।

वर्षा सुरु भएसँगै कैलाली जिल्लाको पूर्वी दक्षिण क्षेत्रमा बाढी र डुबानको समस्या हुने भएकाले पूर्वतयारी तथा आवश्यक सूचना प्रणाली चुस्त र दुरुस्त राख्न स्थानीयले सुझाव दिएका छन्।

हरेक वर्ष बाढी र डुबानबाट हैरान भएका त्यस क्षेत्रका स्थानीयले पूर्वसूचना प्रणालीको व्यवस्था नहुँदा विगतमा धनजनको क्षति बेहोरेको तितो अनुभव छ। बर्खा लागेसँगै पूर्वसूचना प्रणालीलाई व्यवस्थित गर्नुपर्ने सुझाव स्थानीयको छ। कैलालीमा सबैभन्दा ठुलो क्षति २०६४ सालको बाढीले पुर्याएको अनुभव स्थानीयको छ।

घोडाघोडी नगरपालिका–१० का स्थानीय पुष्कल बमले २०६४ सालको कान्द्रा नदीको बाढीले धनजनको क्षति पुर्याएको बताए। उनका अनुसार कान्द्रा नदीको बाढीले घुम्नी भाकल, खल्लाखेत, लालबोझी, आम्बासालगायतका क्षेत्रमा मानवीय क्षति हुन नपाए पनि स्थानीयवासीमा भागदौड चलेको थियो।

बाढी प्रभावित क्षेत्रमा पूर्वसूचना प्रवाह गर्नका लागि विभिन्न नदीमा पानीको बहाव मापनयन्त्र जडान गरी जानकारी दिने गरिएको छ ।पूर्वसूचना प्रणाली जोखिम न्यूनीकरणका लागि राम्रो भए पनि कार्यान्वयन प्रक्रिया प्रभावकारी नभएको बमको भनाइ छ। उनले दक्षिण क्षेत्रमा बसोबास गर्ने बढी डुबान र बाढीबाट प्रभावित हुने भएकाले चुरे क्षेत्रमा पानी परेको सूचना तल्लो क्षेत्रमा पुग्नुपर्ने बताए ।

पानीको बहावले जोखिम अङ्क नाघेपछि सूचना दिने यन्त्र दक्षिण क्षेत्रका जनतासम्म पुर्याउनुपर्नेमा स्थानीयको सुझाव छ। भजनीका स्थानीय विक्रम चौधरीले पूर्वसूचना प्रणालीको व्यवस्था नहुँदा डर त्रास हुने गरेको बताए।

पूर्वसूचना प्रणालीको व्यवस्था भएयता बाढी र डुबानबाट बच्न स्थानीयले सुरक्षित उपाय अपनाउन थालेका छन् । २०४६ सालदेखि कर्णाली नदीको पानीको बहावको अङ्क मापन र सूचना प्रवाह गर्दै आएकी गेजरिडर पार्वती गुरुङले भेरी, सेती र कर्णाली नदीको छुट्टाछुट्टै पानीको बहावको जानकारी सम्बन्धित निकायलाई दिने गरेको बताईन्। गोरखापत्रबाट

प्रकाशित: १८ असार २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...