
काठमाडौं ।
शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारी यादवले स्टीम शिक्षालाई विद्यालय पाठ्यक्रममा समावेश गर्दै लानुपर्ने आवश्यक रहेको बताएकी छन्।
सोमबार “विश्वविद्यालयका विद्यार्थीहरू बीच स्टीम सामाग्री डिजाइन सम्बन्धी प्रतिस्पर्धा कार्यक्रम” मा सम्बोधन गर्दै राज्यमन्त्री यादवले सो कुरा बताएकी हुन् ।
स्टीम शिक्षा विज्ञान, प्रविधि, इन्जिनियरिङ् र गणित विषयका अवधारणाहरुलाई एकिकृत गरी कार्यान्वयनमा ल्याइएको बहुआयामिक ढाँचा हो । स्टीम शिक्षाले आधारभूत विद्यार्थीहरूमा सिर्जनशीलता, समस्या समाधान, आलोचनात्मक विश्लेषण, स्वतन्त्र सोचाई तथा समूहगत रूपमा काम गर्ने क्षमता तथा सीप विकास गर्दछ।
प्रविधिको विकाससँगै परम्परागत शिक्षालाई पनि परिमार्जन गरी प्रयोगात्मक तथा व्यवहारिक शिक्षा र सिकाईमा जोड दिन आवश्यक भएको उनले धारणा राखिन् । ‘स्टीम शिक्षा मार्फत आर्जन गरेको ज्ञान र सीपले विद्यार्थीहरूलाई विद्यालयस्तर र सो पश्चात पनि समस्याहरूको सामना गर्न आधारशीला निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्दछ,’ उनले भनिन् ।
उनले यसले विद्यार्थीहरूको व्यक्तित्व विकासमा समेत सकारात्मक प्रभाव पार्ने भएकोले स्टीम शिक्षालाई विद्यालय पाठ्यक्रममा समावेश गर्दै लानु जरूरी रहेको बताउँदै यसलाई केही स्थानीय तहले अंगीकार गरेको भए तापनि स्टीम शिक्षालाई वृहत रूपमा लान आवश्यक रहेको जोड दिइन्।
‘अहिलेको परिवर्तनशील परिवेशमा श्रम बजारमा समेत स्टीम सम्बन्धी योग्यता, सीप र अनुभव भएका जनशक्तिको उच्च माग भएकोले प्रतिस्पर्धात्मक जनशक्ति उत्पादन गर्न विद्यालयस्तरबाट स्टीम शिक्षा आवद्ध गर्दै लैजानु पर्ने हुन्छ। स्टीम शिक्षाले सूचना साक्षरता (दक्षता पूर्ण र प्रभावकारी तरिकाले सूचनाको आलोचनात्मक ढंगले मूल्याङ्कन गर्ने क्षमता) र डिजिटल साक्षरता (डिजिटल प्रविधिको उचित प्रयोगको क्षमता) हासिल गर्नमा जोड दिने भएकोले स्टीम शिक्षाले प्रविधिलाई सही र उचित ढंगले प्रयोग गर्ने क्षमता विकास गर्दछ,’ उनले भनेकी छन्।
कार्यक्रममा विज्ञान तथा प्रविधिका सचिव, मन्त्रालयका विज्ञान प्रविधि महाशाखा प्रमुख, बीपी कोईराला मेमोरियल प्लानेटोरियम तथा अब्जरभेटरी र विज्ञान संग्रहालयका कार्यकारी निर्देशक लगायत विद्यार्थीहरुहरुको उपस्थिति रहेको थियो।
प्रकाशित: १२ असार २०८०, मंगलवार