४२ प्रतिशत टेक लिडरको सोचाईमा एआईले मानवताको अन्त्य गर्नेछ

  • Technology Khabar | ४ असार २०८०, सोमबार
४२ प्रतिशत टेक लिडरको सोचाईमा एआईले मानवताको अन्त्य गर्नेछ

काठमाडौं ।

एआई यस वर्ष सबैधेरै चर्चामा हुने विषय भएको छ। आर्टिफिसियल इन्टेलिजेन्सका एकातिर धेरै फाइदाहरू छन् भने अर्कोतिर गम्भीर बेफाइदाहरू पनि छन्। धेरै टेक दिग्गजहरूले एआईलाई खतराको घण्टी भनेका छन्।

ट्विटर र टेस्लाका मालिक इलन मस्कले पनि एआईलाई मानवताका लागि खतरा भनेका छन्। यसैबीच, येल सीईओ शिखर सम्मेलनमा, सीएनएनद्वारा एआईको बारेमा एक सर्वेक्षण गरिएको थियो जसमा विश्वका शीर्ष कम्पनीका सीईओहरू संलग्न थिए। प्रतिवेदनमा खुलासा गरिएअनुसार ४२ प्रतिशत सीईओहरूले आगामी केही वर्षहरूमा एआईले मानवतामा हावी हुने विश्वास गर्छन्।

सर्वेक्षणमा ११९ भन्दा बढी सीईओहरू समावेश

सीएनएनले गरेको यस सर्वेक्षणमा करिब ४२ प्रतिशत सीईओ र शीर्ष व्यापार व्यवसायीहरूले एआईमा अहिलेदेखि ५ देखि १० वर्षपछि मानवतालाई नष्ट गर्ने क्षमता रहेको विश्वास गरेको बताइएको छ। सर्वेक्षणमा वालमार्ट, कोका-कोला, जेरोक्स, जुम र अन्य धेरै ठूला कम्पनीका ११९ सीईओहरू समावेश थिए। सर्वेक्षणको रिपोर्टका बारेमा येलका प्रोफेसर जेफ्री सोनेनफेल्डले यदि वास्तविकतामा यस्तो भयो भने यो निकै खतरनाक हुने बताए।

रिपोर्टका अनुसार करिब ३४ प्रतिशत सीईओले एआईले १० वर्षमा मानवतालाई सम्भावित रूपमा नष्ट गर्नसक्ने बताएका छन् भने करिब ८ प्रतिशतले विनाशका लागि मात्रै अबको ५ वर्षमा हुनसक्ने बताएका छन् । यद्यपि, ५८ प्रतिशत सीईओहरूले एआई मानिसहरूमाथि कहिल्यै हावी हुने छैन र उनीहरूले चिन्ता लिनु नपर्ने बताएका छन्।

यो रिपोर्ट त्यतिबेला बाहिर आएको छ, जब केही समय पहिले ओपन एआईका सीईओले एआईको खतरालाई उजागर गरेका थिए र उनले यसलाई मानवताका लागि खतरा भन्दै एउटा डकुमेन्टमा हस्ताक्षर पनि गरेका थिए।

यो डकुमेन्टमा इलन मस्क, ओपन एआईका एक दर्जन भन्दा बढी अधिकारी, जेफ्री हिन्टन, गुगल र माइक्रोसफ्टका शीर्ष अधिकारीहरूले पनि हस्ताक्षर गरेका थिए। सबै प्रविधि नेताहरूले एआईमा कानून बनाउन आवश्यक रहेको र यसका लागि सबै देश मिलेर काम गर्नुपर्ने बताएका थिए।

प्रकाशित: ४ असार २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार